पर्वत- नेपाली काँग्रेस पर्वतले समसामयिक राजनीति र नेपाली काँग्रेसको अवको भूमिकाका विषयमा कार्यकर्ताहरु संग अन्तरक्रिया गर्ने भएको छ । नेपाली काँग्रेस पर्वतले भोली सदरमुकाम कुश्मामा भेला गर्न थालेको हो ।
जिल्लाभरिका कार्यकर्ताहरुको सहभागितामा कुश्मा स्थित यूनिभर्सल पार्टी प्यालेसमा भेला आयोजना गरिएको छ । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेटघाट तथा नेपाली काँग्रेसको आगामी रणनीतिका बारेमा छलफल गर्न थालिएको पार्टी उपसभापती दुर्गावहादुर खत्रीले जानकारी दिनुभयो । धौलागिरीका बागलुङ र म्याग्दीका विभिन्न कार्यक्रममा सहभागी भएर बरिष्ठ नेता पौडेल भोली कुश्मामा कार्यकर्ता संग अन्तरसम्वादका लागि आउनुहुने भएकाले कार्यक्रमको तयारी गरिएको उपसभापती खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारी, केन्द्रिय सदस्य एवं स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशी, प्रतिनिधीसभाका साँसद लालकाजी गुरुङ लगायत केन्द्रका नेताहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, महासमिति, महाधिबेशन प्रतिनिधी, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधीहरु कार्यक्रममा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेर पछि अदालतले निणर्य उल्टाएपछि देशको राजनीति तरल अवस्थामा छ । यो अवस्थामा काँग्रेसका नेताहरुले कार्यकर्ता भेटघाटलाई तिव्रता दिएका छन् । काँग्रेसको अवको रणनीतिका विषयमा विभिन्न चर्चा भैरहँदा बरिष्ठ नेता पौडेल पर्वतमा आउनुलाई महत्वका साथ हेरिएको छ ।






