पर्वत- पर्वतमा नेकपा एमालेको आसन्न दशौ महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौटको निर्वाचन स्थगित गरिएको छ । सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्ने योजना अनुरुप निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । प्रतिनिधिका लागि बिहीवार उम्मेदवारी दर्ता गरिएको छ । आवश्यकता भन्दा तीन गुणा बढि उम्मेदवारी परेपछि आज दिउँसो २ बजे सम्मका लागि दाबा बिरोध र उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । १३ जना प्रतिनिधि सहभागि हुन पाउनेमा ४६ जनाको उम्मेदवारी परेको छ । सहमतिका लागि भन्दै निर्धारित समयसम्म अधिकांस उम्मेदवारले फिर्ता लिएपछि कार्यदल बनाएर सहमतिमै प्रतिनिधि छनौट गर्नका लागि भन्दै निर्वाचनका कार्यक्रम स्थगित गरिएको निर्वाचन संयोजक चन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । अहिले कार्यदलको बैठकले सर्वसम्मतको लागि छलफल गरिरहेको बताईएको छ ।
एमाले जिल्ला कमिटिको अनुरोधमा निर्वाचन समितिले दिउँसो २ बजे पछिका सवै कार्यक्रम स्थगित गरेको उहाँले बताउनुभयो । निर्वाचन समितिको कार्यतालिका अनुसार सहमति नभएमा भोली विहान ११ बजेदेखि मतदान कार्यक्रम हुने निर्धारण गरिएको थियो । पर्वतमा एमालेका ६ हजार ७ सय ६० संगठित सदस्य रहेका छन् । महाधिवेशन प्रतिनिधि छनौटका लागि सवै संगठित सदस्यहरुले मतदान गर्ने व्यवस्था रहेको छ । जस अनुसार जिल्लाका सातवटै स्थानीय तहमा मतदानको व्यवस्था मिलाईएको छ ।






