विराटनगर — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान विपरीत परमादेश मार्फत् ‘सेटिङ’मा राज्यसत्ता परिवर्तन गराउँदा आफ्नै विश्वास र मर्यादा गुमाएको आरोप लगाएका छन् ।
एमाले मोरङले सोमबार आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा ओलीले सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकारसमेत खोसेर आफ्नो नेतृत्वको सरकार विस्थापीत गर्न पञ्चमुखी गठबन्धसँग ‘सेटिङ’ गरेको खुलासा भएको आरोप लगाए । जसले गर्दा अदालतको शाख नै गिरेको उनको जिकिर छ ।
‘सर्वोच्च अदालतको काम संविधान व्याख्या गर्ने हो,’ ओलीले भने ‘तर सरकार परिवर्तन गर्नेतर्फ लागेर स्वतन्त्र न्यायालयको धज्जी नै उडायो । प्रतिनिधिसभामा दुईतिहाइ बहुमत भएको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको दलको नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश ठोक्यो ।’
संसद्को सबैभन्दा ठूलो दलका नेतलाई प्रधानमन्त्रीको उम्मेदवार नै हुन नपाउने परमादेश ठोकेर सर्वोच्चले आफ्नै मर्यादा गुमाएको उनको आरोप थियो । यस्तै सेटिङमा जागिर खाने कर्मचारीले राज्यसत्ता परिवर्तन गर्दा अहिले सर्वोच्च अदालत विवादमा फसेको ओलीको आरोप छ । यस्तै सेटिङका अरु बुँदा विस्तारै खुल्दै जाने र त्यसपछि झन् सर्वोच्चको शाख गुम्ने निश्चित भएको उनको दाबी छ ।
‘सर्वोच्चले आफ्नो मर्यादा जोगाउन संविधान अनुसार निष्पक्ष र सम्मानजनक फैसला गर्न सक्नुपर्छ’ उनले भने ‘पाँचदलीय गठबन्धन सर्वोच्चसँग दुना र कचौरामा माग्न गएका थिए । तर सर्वोच्चले उनीहरूको मागभन्दा बढी टपरी र थालमै दिएर पठाउँदा सर्वोच्च अदालतको विश्वा संकटमा पर्यो ।’






