
माधव पराजुली,पर्वत
पर्वतको विहादी गाउँपालिकाले ६ वटै वडाहरुमा कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न अस्थायी क्वारेन्टाईन स्थापना गरेको छ । गाउँपालिले वडा नं. १ बाच्छा स्थित जनप्रिय प्रा.वि. सालडाँडा,वडा नं. २ बर्राचौर स्थित जनसेवा प्रा.वि. पातल वडा नं. ३ रानीपानी स्थित रानीपानी आधारभुत विद्यालय, वडा नं. ४ वहाकीठाँटी स्थित लक्ष्मि मा.वि.,वडा नं. ५ उराम स्थित चन्द्र मा.वि. र वडा नं. ६ स्थित वाल ज्योति प्रा.वि. मा १०÷१० शैयाको अस्थायी क्वारेन्टाईन स्थापन गरेको हो ।
विशेष गरी बाहिरबाट गाउँपालिकामा आएका सर्वसाधारणहरु तथा पालिका भित्रका मानिसहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाईन स्थापना गरिएको विहादी गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले जानकारी दिनुभयो ।
गाउँपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई मध्येनजर गरी रोकथाम तथा सम्भावित महामारी विरुद्ध न्यूनीकरण गर्न प्रभावकारी व्यवस्थापनको आवश्यक सम्पूर्ण तयारी गरेको छ । आवश्यकता परेको खण्डमा गाउँपालिकाको अन्य ठाउँहरुमा समेत क्वारेन्टाईन बनाउने गाउँपालिको तयारी छ । क्वारेन्टाईनमा राखिने बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा २ हप्ता सम्म राखे पछि सामान्य अवस्था देखिएमा मात्रै घर फर्काइने छ ।
विहादी गाउँपालिकाले सिमा नाका प्रवेश द्धारमा समेत कडा निगरानी गरेको छ । विभिन्न स्थान बाट आउने मानिसहरुलाई विहादी गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा चेकजाँच गरेर मात्र भित्र प्रवेश गराईएको छ ।,