
ठाकुर रसाईली
पर्वत- यतिवेला विश्वमर कोरोना भाईरसको महामारी फैलिएको छ । यो समयमा सरकारले दुई साता लामो लकडाउन घोषणा गरेको छ । लामो समय लक डाउन गर्दा विपन्न र गरिब नागरिकहरुलाई दैनिक गुजारा चलाउन समस्या परिरहेको छ । यस्तो अवस्थामा महाशिला गाउँपालिका वडा ५ का एक युवाले अति गरिब तथा ज्यालामजदुरी गरेर जीबिका चलाउने परिवारका लागि खाद्यान्न सामाग्री वितरण गरेका छन ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस लकडाउनको प्रभाव बढीजसो दिनभर काम गरेर साँझ छाक टार्नेलाई परिरहेको भन्दै त्यस्ता परिवारको छनोट गरि स्थानीय नवीन परियार चामलका बोरा, नुन, तेल, चिनी लगायतका खाद्यान्न सामाग्री बोकेर घरघर पुगिरहेका छन ।
यो संकटको घडीमा आफुले राहत पाउँदा स्थानीय गरिब अपांग तथा ज्यालादारी गरेर जीबिका चलाउने परिवार खुसी भएका छन । एक युवा घरघरमा खाद्यान्न सामाग्री बोकेर पुग्दा स्थानीय सरकारले समेत पाठ सिक्न पर्ने भन्दै सबैले प्रसंसा गरेका छन ।