
पर्वत– २०६२/६३ सालको जनआन्दोलनमा धौलागिरि क्षेत्रका एकमात्र शहिद गोविन्दनाथ शर्मालाई पर्वत काँग्रेसले सम्झिएको छ ।
शहिद दिवसको अवसरमा बिहीवार पर्वत सदरमुकाम कुश्माबजार स्थित लोकतान्त्रिक चोकमा रहेको शर्माको शालिकमा माल्यार्पण गरेर शहिदको सम्झना गरिएको हो ।
नेपाली काँग्रेस पर्वतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संविधासभा सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, शहिद गोविन्दनाथका भाई देव शर्माले शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
सो अवसरमा एक मिनेट मौन धारण समेत गरिएको थियो । सरकारी स्तरवाट शहिद दिवसको अवसरमा कार्यक्रमहरु गर्न छाडिसकेका बेला काँग्रेसले भएपनि शहिदको सम्झना गर्नुपर्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको पार्टी सभापति खिमप्रसाद भुसालले जानकारी दिनुभयो ।
गोविन्दनाथ शर्माको ८ बैशाख २०६३ मा सुरक्षाकर्मीले प्रहार गरेको गोलीले लागेर ज्यान गएको थियो । गोविन्दनाथ शर्माको मृत्यु भएपछि त्यतिबेला धौलागिरिका सवै जिल्लामा शोक मग्न बनेको थियो ।
आन्दोलन सफलताको टुंगोमा पुगेपछि गोविन्दनाथ शर्मा धौलागिरि कै एक मात्र शहिदका रुपमा घोषित भएपनि शहिदको उचित मान सम्मान र मर्यादा हुन नसकेको परिवारको गुनासो रहेको छ ।