पर्वत- जिल्लाको मोदी गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई राख्न ६ वेडको क्वारेन्टाइनको निर्माण गरेको छ । स्थानीय पातिचौरमा रहेको पशुपति प्राविमा गाउँपालिकाले ६ वटा वेड सहितको क्वारेन्टाइन निर्माण गरेको हो ।
पछिल्लो समय विदेशबाट फर्केकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि उनीहरुलाई सुरक्षित ठाउँमा राख्ने प्रयोजनका लागि क्वारेन्टाइनको निर्माण गरिएको मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार संक्रमण पुष्टि भएमा उनीहरुलाई पर्वत कोरोना अस्पतालमा लगिनेछ । संक्रमणका सम्भावना भएकाहरुलाई हाल सुरक्षित तरिकाले राख्नका लागि उक्त क्वारेन्टाइनको निर्माण गरिएको लामिछानेको भनाई छ ।
क्वारेन्टाइनमा बस्नेको संख्या बृद्धि भएमा क्वारेन्टाइनको क्षमता थप गरिने समेत प्रवक्ता लामिछानेले जानकारी दिए । गाउँपालिकाले पछिल्लो समय विदेशबाट आएकाहरुको सुचि संकलन गरीरहेको छ ।
विदेशबाट आएकाहरुलाई वडाअध्यक्ष मार्फत कडाईका साथ होम क्वारेन्टाइनमा बस्न र यदि घरमा बस्न असजिलो भए गाउँपालिकाको क्वारेन्टाइनमा बस्ने अनुरोध गरिएको लामिछानेको भनाई छ ।