
माधव पराजुली, पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकार स्वच्छतापूर्वक हुर्केको बताउनुभएको छ । शुक्रबार तनहुँको भानु नगरपालिका वडा नं. १३ स्थित मिर्लुङकोट रानीपोखरीमा सञ्चालित मिर्लुङकोट पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री लम्सालले संघियता कार्यन्वयन सँगै गठन भएको प्रदेश सरकार अहिँले सम्म आईपुग्दा कुनै आलोचना र विवादमा नपरी स्वच्छ किसिमले हुर्केको बताउनुभएको हो । “गण्डकी प्रदेश सरकारमा कुनै दाग लाएको छैन,खोट लाएको छैन,यो स्वस्थ हिसाबले हुर्केको छ,यसलाई कुनै रोग लाएको छैन, मन्त्री लम्सालले भन्नुभयो,”यो यहीँ गतिमा आगाडी बढ्दै गयो भने गण्डकी प्रदेश अब्बलदर्जामा गनिन्छ, ।
प्रदेश सरकारले परिणाममुखी काम गर्दै आएको बताउदै उहाँले पर्यटन,कृषि,उर्जा गण्डकी प्रदेश सरकारको समृद्धिका प्रमुख आधार रहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले थालेको सबै योजनाहरुको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश सरकारका कामहरु प्रत्यक्ष देखिने मन्त्रीलम्सालको भनाई थियो । प्रदेश सरकारले जनतालाई उत्पादन,रोजगारी र समृद्धि सँग जोड्न चाहेको बताउदै ईलमी हातहरुलाई प्रदेश सरकारको सधैँ सहयोग रहने बताउनुभयो ।
गण्डकी प्रदेश पर्यटनको राजधानी भएको चर्चा गर्दै मन्त्री लम्सालले ग्रामिण पर्यटनका साथै सयौँ होमस्टे,दर्जनौ सांस्कृतिक गाउँहरु, प्राकृतिक गुफाहरु, जलविहारको लागि प्रसिद्ध मादी, सेती, कालीगण्डकी र मार्स्याङ्दी नदीहरु, हिमाल, ऐतिहासिक मठ,मन्दिर, माउण्टेन वाइकिङ्का लागि प्रसस्त ग्रामिण सडकहरु, विभिन्न जातजातिको कला र संस्कृतिका साथै प्राकृतिक एवं जैविक सम्पदाले गण्डकी प्रदेशलाई महत्वपूर्ण स्थान बनाएको बताउनुभयो । यहाँका धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक एवं प्राकृतिक पर्यटकीय स्थलको अकर्षक गन्तव्यका रुपमा विकास गर्दै स्थानीय बासिन्दालाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने योजना बनाइएको उहाँको भनाई थियो ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण तनहुँ पर्यटनका लागि उत्कृष्टि गन्तव्यका रुपमा लिन सकिने बताउदै देवघाटधाम, छिम्केश्वरी, छाव्दी, ढोरबाराही, थानीकोथान जस्ता धार्मिक स्थल र तनहुँसूर, ऋषिङ्ग रानीपोखरी, मिर्लुङ्गकोट जस्ता ऐतिहासिक धरोहरलाई समेत यसै जिल्लाले समेटेको र यसको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य राम बहादुर गुरुङले मिर्लुङ्गकोट ऐतिहासिक तथा धार्मीक हिसाबले महत्वपूर्ण रहेको चर्चा गर्दै मिर्लुङ्गकोटलाई पर्यटकको प्रमुख आकर्षणको केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
मिर्लुङ्गकोट जिल्लाको उत्कृष्ट १० गन्तव्य भित्र पर्छ । प्रदेश सरकारले यसको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि ४० लाख रकम बिनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सान्, पहडकी रानी मिर्लुङकोटको पहिचान भन्ने मुलनाराका साथ सञ्चालन भएको महोत्सव फागुन २० गते सम्म चल्ने छ ।