लकडाउन कति प्रभावकारी ? - News site from Nepal
लकडाउन कति प्रभावकारी ?

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालयले उपत्यकाका नाकासमेत सिल गरेको हो। तर, सवारी साधन र सर्वसाधारण उपत्यका छिर्ने र बाहिरिने क्रम रोकिएको छैन।

विभिन्न नाकाबाट दैनिकजसो ३ हजारको संख्यामा यात्रु र १५ सयभन्दा बढी सवारी साधन उपत्यकामा भित्रिँदै आएका छन्। त्यसैगरी दैनिक ३ हजार ५ सय यात्रु र १ हजार ४ सय सवारी साधन बाहिरिँदै आएका छन्। पछिल्ला दिनमा सरकारले यात्रु भित्रिने र बाहिरिनेमा केही कडाइ गरेको देखिन्छ। गत चैत ११ देखि जेठ १० गतेसम्मको यात्रु र सवारी साधन भित्रिने र बाहिरिने आँकडा हेर्दा १ लाख ५३ हजार ५ सय ८७ यात्रु उपत्यका भित्रिएका छन्। त्यस्तै २ लाख ५२ हजार २१ जना बाहिरिएको प्रहरी तथ्यांकले देखाउँछ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी वैशाख २९ र ३० गते यात्रु भित्रिएका थिए। वैशाख २९ गते ७ हजार ४ सय ३२ र ३० गते ७ हजार ९ सय ४५ जना उपत्यकामा भित्रिएको देखिन्छ। त्यसैगरी वैशाख १, १०, ११, १३, १४ गते धेरै यात्रु उपत्यकाबाट बाहिरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार यो मितिमा १ गते १५ हजार १ सय ६५, ११ गते १७ हजार २ सय ७९, १३ गते १२ हजार ४ सय १३ र १४ गते १ हजार ७ सय ७ जना उपत्यकाबाट बाहिरिएको अभिलेख छ।

‘प्रहरीको आँखा छलेर रातारात पैदल हिंड्ने यात्रु यो अभिलेखमा जोडिएको छैन’, डीआईजी पोखरेलले भने, ‘अधिकांश पास भएका र अत्यावश्यक कामले भित्रिएका र बाहिरिएका यात्रुको अभिलेख समावेश गरिएको छ।’

उनका अनुसार ४० लाख जनसंख्या रहेको उपत्यकामा यति संख्यामा यात्रु भित्रिनु र बाहिरिनु नौलो होइन। पैदल यात्री भने लकडाउन अवधिमा १८ हजार १ सय ११ जना मात्रै बाहिरिएको अभिलेख प्रहरीसँग छ। तर, लुकिछिपी पैदल यात्रु धेरै उपत्यका ओहोरदोहोर गरेका छन्।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जेठदेखि जथाभावी पास वितरणमा रोक लगाइएपछि उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको बताए। प्रहरी तथ्यांकअनुसार जेठ १ देखि १० गतेसम्ममा उपत्यकामा ३० हजार २ सय ८९ जना यात्रु भित्रिएका छन्। सोही मितिमा ३० हजार ९ सय ८८ जना बाहिरिएका छन्। सवारी साधनको हकमा सोही मितिमा १६ हजार ६ सय ९८ वटा भित्रिएका छन्। बाहिरिनेको संख्या १६ हजार ६ सय ३४ छ।

प्रवक्ता शर्माको दाबीलाई मान्ने हो भने वैशाख २२ देखि ३१ गतेसम्म ५१ हजार ६ सय ५५ जना राजधानी भित्रिएका छन्। ५१ हजार ८ सय ८ जना बाहिरिएका छन ्।

सवारी साधनको हकमा वैशाख २२ देखि ३१ गतेसम्म २२ हजार ९ सय २० वटा भित्रिएका थिए। २१ हजार २ सय ९४ सवारी साधन बाहिरिए। प्रहरीकै तथ्यांकअनुसार पनि यात्रु भित्रिने संख्यामा सुधार आएको जानकारी प्रवक्ता शर्माले दिए। ‘अहिले लकडाउनलाई धेरै कडाइ गरिएको छ। बिनापासका सवारीलाई होल्ड गरेर राखेका छौं’, उनले भने, ‘अत्यावश्यक कामबाहेकका सर्वसाधारणलाई पासबिना उपत्यका भित्रिन दिएका छैनौं। सवारीको हकमा पनि पास अत्यावश्यक गरिएको छ।’

अन्नपुणर्बाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!