वडा न ६ अध्यक्ष तथा मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेका अनुसार बहुउद्देश्यीय भवनलाई इन्डोर खेल, कर्भड हल तथा सभा समारोहमा प्रयोग गर्ने गरी भवन निर्माण गर्न लागिएको हो ।
भवन निर्माण प्रक्रिया केहि दिनमै शुरु हुने लामिछानेले जानकारी दिए । झण्डै सवा करोडको लागतमा टेण्डर आब्हान भएको उक्त भवनको निर्माण कार्य ७८ लाख ८३ हजार ४ सय ३ रुपैयामा हुने लामिछानेको भनाई छ । उक्त भवनको निर्माण कार्यका लागि अपार निर्माण सेवाले जिम्मा लिएको छ । गाउँपालिका स्तरीय सामुदायिक भवनको रुपमा उक्त भवनलाई बहुउद्देश्यीय भवनको रुपमा निर्माण कार्य शुभारम्भ गरिने लामिछानेले बताए ।
गाउँपालिका भित्र ठूलो क्षमताको बहुउद्देश्यीय भवनको अभाव भईरहेको बेला उक्त भवनले अभाव पूर्ति गर्ने बताइएको छ । भवन निर्माण कार्यका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट १५ लाख र बाँकी रकम गाउँपालिका तथा प्रदेश सरकारको साझेदारीमा सम्पन्न हुने लामिछानेले जानकारी दिए ।