नेपालमा कोभिड-१९ का बिरामी निको हुने दर न्यून - News site from Nepal
नेपालमा कोभिड-१९ का बिरामी निको हुने दर न्यून

काठमाडों –  कोभिड–१९ का बिरामी कति दिनमा निको हुन्छन् ? नेपालमा कोभिडका बिरामी औसत २० दिनमा निको भइरहेका छन् । चीनको वुहानदेखि युरोप, अमेरिका हुँदै भारतसम्म दाँज्दा नेपालमा बिरामी निको हुने दर सबैभन्दा कम रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा कोरोना संक्रमण देखिएका पाँच सय ८४ जनामध्ये ७० जना निको भएका छन् भने तीनजनाको मृत्यु भएको छ । जसअनुसार निको हुने बिरामी १२ प्रतिशत मात्रै छन् ।
यो विश्वको अनुपातमा एकदमै कम हो । विश्वमा ४० प्रतिशत संक्रमित निको भएका छन् । तर, नेपालमा भने अन्य देशको तुलनामा निको हुने दर न्यून रहँदा विज्ञहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अमेरिका, भारत, पाकिस्तानलगायत देशको अनुपातमा नेपालमा कोरोना भाइरस संक्रमित निको हुने दर न्यून रहेको बताउँछन् । अमेरिकामा २४, भारतमा ४१ र पाकिस्तानमा ३१ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
तर, नेपालमा भने निको हुने प्रतिशत बढ्नुपर्नेमा घट्दै गएको छ । डा.पुन भन्छन्, ‘सुरुका दिनमा केसहरू फेला परेका थिएनन्, निको हुने दर बढी थियो, तर अहिले दैनिक केस बढेका छन्, त्यसैले पनि निको हुनेको दर घट्दै गएको हो ।’
कोभिडको औषधि छैन । विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिएको लक्षणका आधारमा औषधि चलाउँदै आएका छन् । नेपालमा पनि चिकित्सहरूले त्यसरी नै उपचार गरिरहेका छन् । शनिबारसम्मको तथ्यांकअनुसार संक्रमितहरू नौदेखि ३५ दिनसम्म अस्पताल बसेका छन् । संक्रमितको औसत अस्पताल बसाइ २० दिनको रहेको छ ।
कोभिडका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार कोरोना अरूमा फैलिन नदिन संक्रमितलाई एउटा छुट्टै कोठा (आइसोलेसन)मा राख्ने गरिएको छ । त्यसबाहेक अन्य थप विशेष उपचार केही हुँदैन ।
संक्रमितलाई ज्वरो आए पारासिटामोल, खोकी, घाँटी खसखस गर्दा र चिन्ता बढ्दा त्यहीअनुसारको औषधि मात्रै खुवाउने गरिएको छ । अस्पताल भर्ना भएका संक्रमितमा सामान्य लक्षणबाहेक कुनै पनि जटिलता देखिएको छैन । तर, तीन जनाको मृत्युले भने सोच्न बाध्य बनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!