जलजला गाउँपालिकाद्वारा न्यायिक समितिलाई प्रभावकारी बनाउन न्याय सम्पादन सम्बन्धी तालिम संचालन - News site from Nepal

पर्वत-  मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले पहिलो पटक न्यायिक समिति तथा मेलमिलापकर्ताको लागि तालिम संचालन गरेको छ । आजदेखि आठदिनसम्म संचालन हुने उक्त तालिमको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सोमवार उद्घाटन गर्नुभएको छ । तालिम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले न्यायिक समितिलाई कानूनी प्रावधानवारे प्रयाप्त जानकारी नहुँदा मुद्दाको पक्ष र विपक्षको कुरा सुनेर निष्पक्ष न्याय सम्पादन गर्न कठिनाई भएको भन्दै मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न र समितिको भूमिका जनतामा थप प्रभावकारी बनाउन तालिम कोषेढुङ्गा सावित हुने दाबी गर्नुभयो ।

अध्यक्ष मल्लले स्थानीय तहमा न्यायिक अधिकारबारे आवश्यक जानकारीको अभाव र भौतिक संरचनाजस्ता कारणले पनि न्यायिक निरूपण गर्न अफ्ठ्यारो भएको वताउँदै तालिमपछि स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवादलाई मेलमिलापमार्फत निरूपण गर्न सहज हुने जानकारी दिनुभयो । अध्यक्ष मल्लले तालिमलाई महत्वका साथ लिन सहभागीहरूलाई आग्रह गर्नुभएको थियो । स्थानीय शासन सञ्चालन ऐनले आलीधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँँट, अर्काको बाली नोक्सानी, घरपालुवा पशुपंक्षी हराएको वा पाएको, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको र नाबालक छोराछोरी वा पतिपत्नीलाई इज्जत आमदअनुसार खान लाउन वा शिक्षादीक्षा नदिएको विषय निरूपण गर्न न्यायिक समितिलाई अधिकार दिएको छ ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सीमा गर्बुजा पुनले कानून र अधिकार वारे समितिलाई प्रयाप्त जानकारी नहुँदा न्याय निरूपण गर्न समस्या भएको वताउँदै तालिमपछि निष्पक्ष न्याय सम्पादन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । संविधानले प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा र गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्नुपर्ने उल्लेख छ । पूर्व मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्नेत र न्यायधीश नारायण दाहालले सहजीकरण गर्नुहुने उक्त तालिममा जलजला गाउँपालिकाका नौवटै वडाका वडाअध्यक्ष सहित तीन/तीन जनाका दरले सहभागीता रहेको छ ।

जलजला गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सीमा गर्बुजा पुनको सभापतित्वमा भएको उक्त तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कर्मचारी देवराज पुरीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!