खेलकुद, खेलाडी र कला संस्कृतिको विकासमा फलेवास नगरको विशेष जोड : उपप्रमुख अधिकारी - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिका ११ पाङराङ्ग श्रीकाङ्गमा श्रीकाङ युवा क्लवको प्रथम बार्षिक उत्सव तथा माहशिवरात्री मेला भव्य रुपमा सम्पन्न भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारासंगै यहीँ फागुन ४ गतेबाट उक्त क्लबको आयोजनामा सुरु भएको विविध खेलकुद,शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाकि उपप्रमुख मन्जु अधिकारीले खेलकुद, खेलाडी, कला संस्कृतिको विकासमा नगरपालिकाले विशेष जोड दिएको बताउनुभएको छ । क्लबले आयोजना गर्ने कार्यक्रमहरुले आपसी सद्भाव, मेलमिलाप साथै स्थानीय कला संस्कृति जगेर्ना हुने बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै अधिकारीले स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउदै जन अपेक्षित विकास निर्माणका कार्यमा नगरपालिका अग्रसर भएको बताउनुभयो । नगरको सबै वार्डहरुमा आवश्यकता र औचित्यको आधारमा समानुपातिक विकासमा जोड दिएको बताउदै विकास निर्माणका कार्यमा स्थानीयले चासो दिनुपर्ने बताउनुभयो ।
कला सांस्कृतिको विकास संगै सामाजिक कार्यमा पनि युवाहरु एकजुट भएर उल्लेखनीय कार्यमा अग्रसर हुन आग्रह गर्दै नगरपालिकाले क्लबलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथि तथा समाजसेवी दिपक जङ कुवरले क्लबलाई तन मन धन सबै तवरबाट सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रम संयोजक सन्तोष क्षेत्रीले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा नेकपा फलेवास नगर कमिटि सचिव शोभा क्षेत्री, समाजसेवी दिपक जङ कुवर, गणेश कुवर, वार्ड सदस्य रुद्र पाठक, नेविसंघ फलेवास नगर सभापति सन्तोष पाठक लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।


कार्यक्रममा वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता, भजन प्रतियोगिता, हाजिरीजफ तथा विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियोे ।

 भलिबल प्रतियोगितामा बौद्ध युवा क्लब दुक्तान प्रथम, आयोजक श्रीकाङ युवा क्लब दिर्तिय, पाङराङ युवा समाज तृतीय र आयोजक बि सान्त्वना भएका छन् ।
त्यस्तै भजन प्रतियोगितामा पाङराङ भजन समूह प्रथम, धौलागिरी आमा समूह पाङराङ दिर्तिय, सुन्तलावारि आमा समूह खोरियाखर्का तृतीय भएका छन । शैक्षिक कार्यक्रम अन्तर्गत वडा स्तरमा रहेका प्रावि तहका विद्यालयहरुविचमा भएको हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योती प्रावि प्रथम,चण्डीजनकल्याण प्रावि द्धितिय,कारनाश प्रावि शुलिकोट तृतिय र सिद्ध माविको प्रावि तह सान्तवना भएका थिए । छेलो प्रतियोगितामा उत्तम पाण्डे प्रथम हुनुभएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो ।

क्लबका अध्यक्ष बिराज कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका सचीव राजु कुवरको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संचारकर्मी रामकृष्ण लामिछाने र कार्यक्रम संयोजक सन्तोष क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!