
पर्वत- पर्वतमा छैठौ चरणमा दादुरा रुवेला रोग बिरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ ।
दादुरा रुवेला रोगबाट हुने क्षती कम गराउने राष्ट्रिय अभियान अन्तर्गत जिल्लामा आउँदा चैत्र ३ गतेदेखि ११ गते सम्म अभियान सञ्चालन गर्न लागिएको हो । खोप अभियानका बारेमा आजस्वास्थ्य कार्यालय पर्वतमा सरोकारवालाहरुको बैठक बसेर विभिन्न तयारी शुरु गरिएको हो ।
पर्वतमा १२ हजार ४ सय २२ जना वालबालिकालाई खोप लगाउने तयारी छ । यो खोप ९ महिनादेखि ५ वर्ष मुनीका बालबालिकालाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार खोप लगाउनका लागि ५८० केन्द्र निर्धारण गरिएको छ भने १८४ जना खोप कार्यकर्ता परिचालन हुनेछन् । खोप समन्वय समिति र सरोकारवालाहरुको बैठकमा खोप रणनीतिको बारेमा जानकारी दिँदै स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले नेपालमा २१ प्रतिशत लक्षित बालबालिका अहिले पनि दादुरा रुवेला खोपको पहुँचभन्दा बाहिर रहेको जानकारी दिनुभयो ।
उहाँले ९५ प्रतिशत पहुँच पु¥याउनुपर्ने दायित्व रहेको अवगत गराउँदै अनिवार्य रुपमा आफ्ना बालबालिकालाई खोप लगाउने कुरामा अभिभावक जागरुक हुनुपर्ने गौतमले बताउनुभयो । दादुरा रुवेला रोग बिशेष गरि ९ महिनादेखि ४९ महिना सम्मका बालबालिकामा लाग्ने गरेको स्वास्थ्य संग सम्बन्धिक सर्बेक्षणले पुष्टि गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले अभियानलाई सफल बनाउनु सबैको दायित्व रहेको बताउँदै आ आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्नुभयो । पौडेलले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु अचुक उपाय रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले सबै क्षेत्रमा आफ्नो आफ्नो तहबाट सूचना पु¥याएर अभियानलाई सफल बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको बैठकले सबै तयारी शुरु भएको र अभियान सफल हुने निष्कर्ष निकालेको छ ।