पर्वतमा मेला महोत्सवमा कडाई- सदरमुकाम बाहिर मेला ५ र महोत्सव ७ दिनभन्दा लामो गर्न नपाईने - News site from Nepal

पर्वत– पर्वतमा गरिने विभिन्न मेला महोत्सवलाई मर्यादित बनाउने उद्धेश्यले जिल्ला प्रशासन कार्यालयले कडाई गर्न थालेको छ ।
पछिल्लो समय मेला महोत्सवका नाममा बिकृतिहरु फैलन थालेपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय वैठकले मेला महोत्सवलाई मर्यादित बनाउने निर्णय गरेको हो । जस अनुसार मेला गर्नका लागि बढिमा पाँच दिनका लागि मात्र अनुमती दिने र महोत्सव गर्नका लागि सदरमुकाम बाहिर बढिमा ७ दिनको लागि मात्र अनुमति प्रदान गर्ने निर्णय भएको छ ।
सुरक्षाका दृष्टिले जोखिम हुने भन्दै पालिका स्तरमा हुने महोत्सव सात दिन भन्दा लामो गर्न नपाईने भएको हो । त्यसैगरी सदरमुकाममा हुने महोत्सव भने ११ दिन सम्म संचालन गर्न पाईने भएको छ ।
मेला महोत्सव गर्ने संघ संस्थाले अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता तथा नविकरणको प्रतिलिपि, सम्वन्धित स्थानीय तहको सिफारीस, उद्योग बाणिज्य संघ पर्वतको सिफारीस, मुल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । त्यसैगरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्य हुनुपर्ने, मेला÷महोत्सवको आम्दानी खर्चको अनुमानीत विवरण सम्पन्न भएको एक महिना भित्र सार्वजनिक गर्नुपर्ने, निर्णय समेत वैठकले गरेको छ ।
त्यसैगरी मेला महोत्सवको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालको संयोजकत्वमा सुरक्षा निकाय, उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, नेकपा र नेपाली काँग्रेसका पार्टी प्रमुख, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी समुहका अध्यक्ष र सम्वन्धित गाउँ÷नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत रहेको समिति समेत चयन गरिएको छ ।
विभिन्न धार्मिक, सांस्कृतिक, खेलकुद, औद्योगिक तथा व्यापारीक मेला महोत्सवका नाममा ठुलो धनराशि संकलन गर्ने तर राज्यलाई कर समेत नतिर्ने र अपारदर्शि ढंगले खर्च गर्ने प्रवृत्ति बढेपछि कडाई गर्न थालिएको वैठकमा सहभागि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी समुहका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।
उनका अनुसार आवश्यक अनुगमन र नियमन नहुँदा जिल्लामा मेला महोत्सवको नाममा विकृति फैलँदै गएको थियो । अब भने केहि नियन्त्रण हुने अपेक्षा गरिएको लामिछानेले बताए । यो समाचार बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
अहिलेसम्म सदरमुकाम भन्दा बाहिर पनि प्रशासन र उद्योग बाणिज्य संघको सिफारीस बिनानै ७ दिन भन्दा लामो अवधिका महोत्सवहरु हुँदै आएका थिए । अबदेखि सदरमुकाम बाहेक अन्य कुनैपनि पालिकामा लामो अवधिका मेला÷महोत्सव संचालनका लागि अनुमती प्रदान गर्न नसकिने र सोहि अनुसार सुरक्षा व्यवस्थापन गर्न समेत असहज हुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले बताईन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!