
माधव पराजुली, पोखरा
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न बिषम परिस्थितिमा दैनिक उपभोग्य वस्तूहरुमा अनपेक्षित मुल्यबृद्धि गरि विक्रि वितरण गर्ने विक्रेताहरुलाई गण्डकी प्रदेश स्तरिय आपूर्ती अनुगमन समितिले कडा कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार बसेको प्रदेश आपूर्ती अनुगमन समितिले गण्डकी प्रदेशका केहीँ जिल्लाहरुमा रहेको आपुर्तीकर्ता तथा विक्रेताहरुबाट दैनिक उपभोग्य वस्तूहरुमा अनपेक्षित मुल्यबृद्धि गरेको भन्ने सुचना प्राप्त भएको भन्दै त्यस्तो गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रदेश आपूर्ती अनुगमन समितिका संयोजक एवम् उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा बसेको प्रदेश स्तरिय आपूर्ती अनुगमन समितिको बैठकले अनुगमन गर्दा अनपेक्षित मुल्यबृद्धि गरेको पाईएमा त्यस्ता आपूर्तीकर्ता वा विक्रेतालाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश भित्र दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा उपलब्ध भैइरहेको, मुल्य यथावत रहेको र आपूर्ती निरन्तर भईरहेको बताइएको छ ।
बैठकले गण्डकी प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यालय मार्फत जिल्लामा हाल मौज्दातमा रहेका दैनिक उपभोग्य बस्तुहरुको विवरण, बजार मुल्य र सम्वन्धित जिल्ला भित्रका स्थानीय तहबाट हालसम्म वितरण भएका राहत सम्वन्धि विवरण ३ दिन भित्र उपलब्ध गराउन पत्राचार गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय, गण्डकी प्रदेशलाई निर्देशन समेत दिएको छ । यसै बिच उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै दैनिक उपभोग्य वस्तूहरुमा अनपेक्षित मुल्यबृद्धि गरि विक्रि वितरण गर्ने विक्रेताहरुलाई ध्यानाकषर्ण गराएको छ ।
निर्णयहरुः
१। बजार अनुगमन सम्वन्धमाः
गण्डकी प्रदेश भित्रका मनाङ्ग र मुस्ताङ्ग बाहेकका नौ वटा जिल्लाहरुमा दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थाको बजार अनुगमन प्रदेशस्तरीय आपूर्ति अनुगमन समितिका संयोजक तथा सहसंयोजकको नेतृत्वमा छुट्टाछुट्टै टोलीले गर्ने निर्णय गरियो । यसरी अनुगमन गर्दा माथि उल्लेखित सवै जिल्लामा न्युनतम एक आपूर्तिकर्ताको आकस्मिक अनुगमन गर्ने । अनुगमन गर्ने व्यवस्थाको लागि आवश्यक समन्वय गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय, गण्डकी प्रदेशलाई निर्देशन दिने ।
२। सूचना सम्प्रेषण गर्ने सम्वन्धमाः
हाल गण्डकी प्रदेशभित्र दैनिक उपभोग्य बस्तुहरुको सहज रुपमा उपलब्ध भैरहेको, मुल्य यथावत रहेको र आपूर्ति निरन्तर भैरहेको व्यहोरा समिति सदस्यहरुले जानकारी गराउनु भयो । यस बीचमा केही दैनिक उपभोग्य बस्तुहरुको मुल्यबृद्दी भएको भन्ने सूचना यस मन्त्रालयमा प्राप्त भएको र सो सम्वन्धि काम कारवाहीलाई प्रदेश मन्त्रालयले अनुगमन गर्दा मुल्य बृद्दी भएको देखिएमा सम्वन्धित आपूर्तिकर्तालाई कारवाही गर्ने व्यहोरा खुलाई मन्त्रालयबाट प्रेस वक्तव्य निकाल्ने निर्णय गरियो ।
३। जिल्ला प्रशासन कार्यालयबाट विवरण संकलन गर्ने सन्दर्भमाः
गण्डकी प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यालय मार्फत जिल्लामा हाल मौज्दातमा रहेका दैनिक उपभोग्य बस्तुहरुको विवरण, बजार मुल्य र सम्वन्धित जिल्ला भित्रका स्थानीय तहबाट हालसम्म वितरण भएका राहत सम्वन्धि विवरण ३ दिन भित्र उपलब्ध गराउन पत्राचार गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय, गण्डकी प्रदेशलाई निर्देशन दिने ।