
पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव आउन झण्डै डेढ साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेका हुन् । महोत्सव निर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सकिएको छ । पर्वत उद्योग बाणिज्य संघको विशेष पहलमा लामो समयदेखि अलपत्र बनेको खेलमैदान तथा महोत्सव स्थलको निर्माणकार्य पुरा भएको हो ।
महोत्सवस्थलको निर्माणकार्य पुरा भएसँगै अब स्टल निर्माण र अन्य सजावटका कामहरु शुरु भएका छन् । महोत्सव स्थल वडागाउँ खेल मैदान निर्माण कार्य सकिएको छ मुल संयोजक केदारनाथ शर्माले भने–‘अब स्टल निर्माण लगायत अन्य तयारीहरु शुरु भएका छन् ।’
महोत्सव अगावै अग्रिम टिकट बुकिङ्ग समेत खुल्ला गरिएको छ । प्याकेज टिकट बुकिङ्ग खुल्ला गरेसँगै जिल्लामा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले टिकट लिन थाल्नुभएको छ ।
राजनीतिज्ञ, व्यावसायी लगायतले प्याकेज टिकटनै लिन थालेको आयोजकले जनाएको छ । महोत्सव स्थल कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकै रहेको महोत्सवको सचिबालयवाट अग्रिम टिकट खुल्ला गरिएको आर्थिक संयोजक गोपि अधिकारीले जानकारी दिनुभयो । ११ दिनसम्म चल्ने महोत्सवमा अग्रिम टिकट बुकिङ शुल्क रु ५०० तोकिएको छ ।
महोत्सव अघिनै धमाधम टिकट विक्रि हुन थालेका छन् । महोत्सवमा हरेक विधामा उत्कृष्ट प्रहसनहरु राखिएको छ । राष्ट्रिय स्तरका लोक, हास्य, पप, आधुनिक गायकहरुको पूस्तुती सँगै हरेक दिन साँझ कन्र्सटहरु आयोजना गरिएकाले पनि यस वर्ष दर्शकहरुको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ । महोत्सव माघ ९ गतेदेखि १९ गतेसम्म हुने भएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा लिईएको छ ।