
रोशन तिवारी
पर्वत- पर्वतको कुश्मा नगरपालिकाले कोरोनाका कारण स्वास्थ्यचौकीमा भएका समस्याहरुका बारेमा अनुगमन शुरु गरेको छ । नगरपालिकाका सबै स्वास्थ्य संस्थामा औषधीको उपलब्धता, विरामीहरुको गुनासो, स्वास्थ्यकर्मीहरुका चुनौती, कोरोना रोकथाममा भएका सचेतनाको अभ्यासमा बारेमा कुश्मा नगरपालिकाले स्वास्थ्यचौकीहरुको अनुगमन शुरु गरेको हो ।
नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनी, स्वास्थ्य संयोजक उमाकान्त सापकोटा, स्टोर शाखा प्रमुख बालकृष्ण शर्मा सहितको टोलीले सबै स्वास्थ्य संस्थामा पुगेर स्थलगत अनुगमन गर्न थाल्नुभएको हो । शुक्रवार टोलीले कटुवाचौपारी स्वास्थ्यचौकी, पिपलटारी स्वास्थ्यचौकी, ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र, खौलालाँकुरी स्वास्थ्यचौकी र आर्थर डाँडाखर्क स्वास्थ्यचौकीमा पुगेर गरेको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा सरकारले निशुल्क उपलब्ध गराउने ४७ प्रकारका औषधीको अभाव कहिँ पनि नरहेको पाईएको स्वास्थ्य शाखाका संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो । तर, कोरोना शंकास्पदको जाँच र उपचारका लागि गाउँका स्वास्थ्य संस्थामा उपकरणहरुको अभाव रहेको सापकोटाले बताउनुभयो ।
अहिले स्वास्थ्य चौकीहरुमा ज्वरो नाप्ने थर्मल गनको अभाव रहेको सापकोटाले बताउनुभयो । नगरपालिकाले ज्वरो नाप्ने थर्मल गन खरिद गरिसकेकाले केहि दिनमा स्वास्थ्यचौकीमा पुग्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रर्याप्त पिपिईको पनि समस्या देखिएको छ
नगरप्रमुख रामचन्द्र जोशीले कोरोनाको त्रासका बिच पनि विरामीहरुले सेवा पाईरहेको र स्वास्थ्यकर्मीहरु पनि विरामीहरुको सेवामा लागिरहेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले स्वास्थ्य शाखालाई आवश्यक औषधीको आपुर्ती नरोक्न र स्वास्थ्यकर्मीहरुको मनोवल बढाउन अनुरोध गर्नुभयो । आवश्यक सावधानी अपनाएर विरामीहरुको उपचार गर्न र कोरोनाको आशंका गरिएका विरामीहरुलाई जिल्ला अस्पताल वा कोरोना अस्पतालमा रिफर गर्न स्वास्थ्यचौकी ईन्चार्जहरुलाई जोशीले आग्रह गर्नुभएको थियो ।
नगरप्रमुख जोशीले कोरोनाको बारेमा प्रर्याप्त जानकारी दिन र नियमित सरसफाईमा बिशेष ध्यान दिने कुरा स्वास्थ्यकर्मीहरुलाई समूदायमा सचेतना फैलाउन अनुरोध गर्नुभएको छ । प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले सबै स्वास्थ्यचौकीमा तत्कालका लागि औषधीको अभाव नरहेको तर भारतले आपुर्ती रोकेमा पर्न सक्ने समस्यालाई मध्यनजर गरि प्रर्याप्त औषधी स्टक राखिएको बताउनुभयो । केहि आवश्यक सामाग्रीहरुको माग भैसकेको हुनाले अहिले स्वास्थ्यकर्मीहरुलाई ढुक्क भएर काम गर्न पंगेनीले निर्देशन दिनुभयो । उहाँले सिमित साधानहरुले काम चलाउनुपर्ने आवश्यकता रहेको भन्दै स्वास्थ्यकर्मीहरुले विषम परिस्थितीमा पनि खटेर काम गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।
कुश्मा नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म र वडा नम्बर ११ को स्वास्थ्यचौकीमा पुगेर टोलीले आईतवार अनुगमन गर्ने जनाएको छ ।