पर्वतको फलामखानी उत्खनन् प्रकृया शुरु, भुगर्भवीद्को टोली महाशीलामा खटियो - News site from Nepal

पर्वत– ः झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नं. ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन् गरिने भएको छ ।
खानी तथा भुगर्भ विभाग लैनचौर काठमाण्डौ आफैले खानीको उत्खनन् गर्न प्रकृया शुरु गरेको हो । विभागले चालु आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्भेक्षण गर्न थालेको छ । त्यसका लागि विभागका सिनीयर भुगर्भविद् ठाकुर कँडेल, भुकर्गविद् प्रकाश पोखे्रल सहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गणस्तर के कति छ भनेर अध्ययन गरिरहेको भुगर्भविद् प्रकश पोखरलेले जानकारी दिए ।
उनका अनुसार इआरटी (इलेक्ट्रीकल रेसिस्टीभिटी टेक्नोलोजी)को माध्यमवाट अध्ययन अनुसन्धानकोे काम भैरहेको छ । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाईएको छ । २ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमुना संकलन पनि गरिरहेको पोखरेले बताए । उनले भने यहाँको क्वान्टीटी र क्वालीटिको बारेमा विस्तृत अध्ययनको रिपोर्टपछि अगाडिको काम शुरु हुन्छ ।’
यहाँ दुई किलोमिटर लम्वाईमा खानी फैलिएको देखिन्छ । उनका अनुसार अध्ययनकै क्रममा रहेकाले बिस्तृत विवरण आईसकेको छैन । विभागको नम्सअनुसारको रिपोर्ट आएमा फलामखानी उत्खनन् प्रकृया शुरु हुन्छ । ‘यस वर्ष डिटेल सर्भे गर्छौ, सवै रिपोर्टहरु पोजेटिभ आएमा अर्को आर्थिकवर्षदेखि उत्खनन्को काम शुरु हुन्छ ।’ पोखरेलले भने


नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खनन्मा तदारुकता देखाएसँगै कँडेल नेतृत्वको टोलीले सम्भावित क्षेत्रहरुम अध्ययनलाई तीब्रता दिएको फलामखानीका वडा अध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशन गरिएको छ । 
धूँवाकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो । तर उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागलेनै काम शुरु गरेको पोखरेलले बताए ।
उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट झण्डै ४० किलोमिटरको दुरीमा रहेको छ । महाशिलाको लुंखु र फलामखानी क्षेत्रमा फैलिएको उक्त खानीको विस्तृत सर्भेक्षण गरि उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका थिए ।
पछिल्लो समय महाशीला गाउँपालिकाले पनि खानी संचालनका लागि चासो देखाएको थियो । आजभन्दा ७० वर्ष यहाँ स्थानीयले फलाम उत्खनन् गर्दै आएका थिए । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाका पुस्ताको भनाई छ । खानीबाट निकालेको फलाम सीधै तताएर आवश्यक सामग्री बनाउन सकिन्छ ।
उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँहरूमा बिक्री हुन्थ्यो । आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलाहरूमा निर्माण भएका पुलहरूमा समेत यहींको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ ।
यहींको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलामखानीका करिब चार सय परिवारको रोजीरोटी चलेको थियो । गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडा अध्यक्ष सुनारले लोकतन्त्र अनलाईनलाई बताए । बताए । फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एकजना उतिबेला फलामको खानीमै बास बस्ने गर्दथे ।
स्थानीय अगुवा गोविन्दवहादुर विश्वकर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन् गर्न विभिन्न प्रयासहरू गरेको भएपनि सम्भव भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!