जलजलाको विकास र समृद्धि नै आफ्नो मूख्य एजेन्डा-अध्यक्ष मल्ल - News site from Nepal
जलजलाको विकास र समृद्धि नै आफ्नो मूख्य एजेन्डा-अध्यक्ष मल्ल
 

पर्वत – जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएको वताउनु भएको छ ।
गाउँ वन समन्वय समिति जलजला गाउँपालिका- ५, लेकफाँटको छैठौ साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले उक्त कुरा वताउनु भएको हो । अध्यक्ष मल्लले स्थानीय सरकारसँग जनताका अपेक्षाहरू धेरै भएपनि बजेटको ठूलो हिस्सा केन्द्र र प्रदेशमै सिमित हुने गरेकाले स्थानीय सरकारले परिकल्पना गरेका विकास र समृद्धिका एजेन्डाहरू ओझेलमा परेको जानकारी दिनुभयो । ‘जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार हो तर केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई आवस्यक बजेट दिएनन् जसका कारण काम गर्न अफ्ठ्यारो छ ।’-अध्यक्ष मल्लले भन्नु भयो ।

अध्यक्ष मल्लले संघीय गणतन्त्रको मर्म र भावना अनुसार सिंहदरवारकोअधिकार गाउँ गाउँमा पुर्याउने हो भने स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्ने र सोही अनुसारको बजेट, अवसर र अधिकार प्रत्यायोजन गर्न केन्द्र सरकारसँग माग समेत गर्नुभएको छ । ‘हामीले जनताको समस्या र आवस्यकतालाई नजिकबाट महशुस गरेका छौ, साच्चिकै समाज र राष्ट्रलाई समृद्ध बनाउने होभने बजेटलाई विकेन्द्रित गर्नोस्, गाउँ हामीले बनाउँछौं । अध्यक्ष मल्लले भन्नुभयो ।

कालाञ्जर विराट ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष मल्लले हिन्दु धर्मशास्त्रमा वर्णित कालाञ्जर र हम्पाल क्षेत्रलाई राष्ट्रिय अन्तराष्ट्रिय रूपमा परिचित गराउन र विश्वका धार्मिक पर्यटकलाई जलजला र कालाञ्जरमा ल्याउने वातावरण बनाउन आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर क्षेत्रमै ऐतिहासिक विराट ज्ञान महायज्ञ गर्न लागिएको जानकारी दिँदै जलजला क्षेत्रको प्रतिष्ठासँग जोडिएको उक्त महायज्ञलाई सफल बनाउन सबै जलजलाबासीहरुलाई आग्रह गर्नुभएको थियो । मल्लले हरेक सामुदायिक बनलाई जनताको आय आर्जन र समृद्धिको माध्यम बनाउन बन उपभोक्ता समितिसँग आग्रह गर्नुभएको थियो । उहाँले सामुदायिक बनले जनताको आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याएमा जलजला गाउँपालिकाले हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो । अध्यक्ष मल्लले शुक्रबारनै लेकफाँट स्थित गिद्धेश्वर शिबालय मन्दिरमा निर्माण गर्न लागिएको सत्तलको शिलान्यास समेत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य ओमप्रसाद रेग्मीले सामुदायिक बनलाई जनताको जीवन र गाउँको विकाससँग जोड्न सुझाव दिनुभएको थियो । सदस्य रेग्मीले वन समन्वय समितिको कार्यक्रममा बन डिभिजन कार्यालयबाट कर्मचारी अनुपस्थित रहेकोमा दुख व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जलजला गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी रवि, वडा नं ५ का वडाअध्यक्ष तिलकबहादुर जिसी, नेकपा पर्वतका सचिवालय सदस्य टुङ्गनाथ पौडेल, नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेकपा लेकफाँटका अध्यक्ष डण्डपाणी सुवेदी र नेपाली काँग्रेस लेकफाँटका नेता गोविन्द पौडेल लगायतले बोल्नुभएको थियो ।

गाउँ वन समन्वय समिति लेकफाँटका अध्यक्ष लालबहादुर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं गाउँ वन समन्वय समितिका महासचिव यम शर्मा पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सहसचिव भगवान आचार्यले गर्नुभएको थियो । कार्यक्रममा गाउँ वन समन्वय समितिका कोषाध्यक्ष चक्रबहादुर केसीले आर्थिक प्रतिवेदन र नारायण कसीले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष मल्लले आजै फड्केढुङ्गा -थामा-अर्जेत-लामापोखरी-लेकफाँट- शालिजा-हम्पाल सडकको अनुगमन समेत गर्नुभएको थियो । यो सडक बनिसके पछि लेकफाँट र शालिजाबासीलाई गाउँपालिका आवतजावतमा सहज हुने र प्रसिद्ध कालाञ्जर क्षेत्रको पहिचानका लागि समेत कोषेढुङ्गा सावित हुने दाबी जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले गर्नुभएको छ । उक्त सडकको लागि जलजला गाउँपालिकाले फड्केढुङ्गा-लेकफाँट सडक खण्डको लागि एककरोड २५ लाख र शालिजा-हम्पाल सडक खण्डको लागि २० लाख सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!