
काठमाडौं- चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ । नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ । यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन् ।
श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका अनुसार विगतमा मास्क खरिदकर्ताहरू फाट्टफुट्ट थिए। अहिले एउटै व्यक्तिले दर्जन बढी मास्क माग गर्छन् । उनी भन्छन्, ‘हामीबाट खरिद गर्ने र बाहिर तेब्बर बढी मूल्यमा बिक्री हुन थालेको पाएपछि ठूलो परिमाणमा बेच्न छाडें ।’
तीनदेखि पाँच रुपैयाँ पर्ने साधारण मास्कलाई बजारमा १५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । नेपालमा सामान्य खालको मास्क बन्छ । त्यही मास्कको पनि माग उच्च छ । चीनबाट समेत मास्कको माग आइरहेको विक्रेता बताउँछन् । ‘बनेपास्थित विक्रेताको ठेगाना दिँदै चिनियाँ कम्युनिस्ट पार्टीका एक पोलिटब्युरो सदस्यले बीस हजारसम्म मास्क मगाएका छन्’, एक युवकले नाम उल्लेख गर्ने सर्तमा भने ।
बजारमा मास्कको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं शाखाका महासचिव समेत रहेका श्रेष्ठ भन्छन्, ‘हामीले पनि मागबमोजिमको मास्क पाएका छैनौं । कृत्रिम अभाव सिर्जना गरिएको छ ।’ औषधि व्यवस्था विभागले मास्क, ग्लोभ्स र ह्यान्ड सेनिटाइजरको पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ । मौज्दात नराखी निर्यात नगर्न–नगराउन रसायन तथा आपूर्ति संघलाई निर्देशन दिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
उनले भने, ‘ती वस्तुको मौज्दातको विवरण जानकारी दिन पत्राचार गरे पनि जवाफ आएको छैन ।’ तीन दिनभित्र मास्क उत्पादकको क्षमता र मौज्दातको विवरण विभागमा पठाउन अघिल्लो शुक्रबार पत्राचार गरे पनि आपूर्ति संघले विवरण पठाएको छैन । विभागले खुद्रा बिक्री वितरण गर्दा नियन्त्रित रूपमा गर्न र मुलुकभरि उपलब्ध हुने व्यवस्था गर्न अनुरोध गरेको थियो । मूल्य नबढ्ने गरी बिक्री वितरण नगर्न–नगराउन अनुरोध गरिएको महानिर्देशक ढकालले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार मास्क निर्यातमा रोक लगाउन अध्यागमन र भन्सार विभागलाई निर्देशन दिइएको छ । ‘कृत्रिम अभाव र कालोबजारी गरेको थाहा पाए कारबाही हुन्छ’, श्रेष्ठले भने ।
चीनलाई एक लाख मास्क सहयोग
नोवेल कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा मास्क अभाव भएपछि सरकारले एक लाख प्रोटेक्टिभ मास्क उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विशेष बैठकपछि उक्त निर्णय गरिएको हो । नेपालले एक लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । अन्नपूर्ण पोष्टबाट