अमेरिका : कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्युयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका उनका परिवारले पछि उनी जीवीतै रहेको जानकारी दिएका छन्।
उनका दाजु ल्हाक्पायुला शेर्पाले निमाको मुटु चलिरहेको खबर आएको बताए। भाइको मुटु चलेको भन्ने खबर अस्पतालबाट आएको यसअघि आफूहरुबाट गलत सूचना दिएर गल्ती भएको स्वीकार गरेका छन्।
‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृत्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ निमाका दाजु ल्हाक्पाले भने–‘हामीले मृत आत्माको चीर शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’
ल्हाक्पा शेर्पाले अस्पतालले निमालाई बचाउन नसकिएको खबर आफूहरुले पाए अनुसारनै हामीले उनको चीर शान्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन्–‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्रद्धाञ्जली समेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं ।
आफूहरु पनि अस्पतालकै सूचनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्षमायाचना गरेका छन् । उनले भनेका छन्,–‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं । मृत्यु बारे जानकारी दिने स्थानीय समाजसेवी तथा निमाका साथी जाङबु शेर्पाले आफूले मृत्युको जानकारी पाएपछि दिनुपूर्व निमाकी श्रीमतीसँग कुराकानी गरेर मात्रै यसबारे बाहिर सूचना दिएको जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।
यता नेपाल सरकारको बाणिज्य दूतावास न्यूयोर्कका कार्यबाहक महाबाणिज्यदूत पुष्पराज भट्टराईले आफूले समेत निमाका दाजु र अन्य आफन्तसँग कुराकानी गरेर पक्का भएपछि मात्रै सामाजिक सञ्जालमा पोष्ट् गरेको र त्यही आधारमा पत्रकारलाई सूचना दिएको जनाएका छन्।