पर्वत – कोरोना संक्रमणको दर पर्वतमा अझै बढने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । स्वास्थ्य कार्यालय पर्वतमा आयोजीत पत्रकार अन्तरक्रिया कार्यक्रममा चिकित्सकहरुले तिहार पछि पर्वतमा कोरोना संक्रमणका विरामीहरु थप बढेर जाने बताएका हुन् । दशैं अघिसम्म सामान्य अवस्थामा रहेको कोरोनाको संक्रमण एकाएक दशैंसंगै बढेर गएको भन्दै त्यो दर तिहार पछि अझै धेरै बढ्ने पर्वतका स्वास्थ्यकर्मीहरुले बताएका हुन् ।
स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले सावधानी अपनाउने क्रम विस्तारै कमी हुँदै गएको र मानिसको आगमन बाक्लो हुन थालेका कारण संक्रमण अझै बढ्ने चेतावनी दिए । उनले अहिलेसम्म लक्षण सहितका संक्रमीतको संख्या निकै कम रहेको भन्दै त्यो संख्या अव भने बढने बताए ।
मौसमको प्रतिकुलता र सुरक्षाका सावधानी अपनाउने बानीको विकास कम गर्ने प्रचलनले अव भने कोभिडका लक्षण सहितका विरामीको संख्या देखा पर्ने उनको भनाई छ । अहिलेसम्म जटिल लक्षण सहितका कुनै पनि विरामी पर्वतको कोरोना अस्पतालको सम्पर्कमा नआएको बताउँदै अवको दिनमा लक्षण सहितका विरामी आउने भन्दै सावधानी रहन आग्रह गरे ।
यस अघि पर्वत जिल्लामा मृत्यु भएका दुवै ब्यक्ति पोखरामा उपचारका लागि सम्पर्कमा गएका थिए । एक जना पोखरामा र एक जना होम आइसोलेसनमा मृत्यु भएको थियो । यस बाहेक जटिल तरिकाले उपचार गर्न पर्ने गरी अहिलेसम्म पर्वत अस्पतालको सम्पर्कमा कोहि पनि संक्रमीत नआएको डा. देवकोटाले स्पष्ट पारे ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले स्थानीय तहहरुमा संक्रमीतको अवस्था पहिचानका लागि कुनै कसर बाँकी नराखिएको बताए । उनले निशुल्क परिक्षण गर्न चाहनेहरुलाई अहिलेसम्म सहज तरिकाले स्वाब संकलनको प्रवन्ध मिलाइएको समेत उनले बताए । संक्रमीतहरुको पहिचानका लागि स्थानीय तहको जिम्मेवारी बढि रहेको डा. गौतमको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले सहजता अपनाएकै कारण लामो समय जिल्लामा संक्रमण नफैलिए पनि चाडपर्वका कारण भने संक्रमणको दर बढेर गएको बताए । उनले लक डाउन, निषेधाज्ञा र भिडभाड कम नगर्नेहो भने अवस्था जटिलता तर्पm धकेलिने बताए । सानो जिल्ला भएकाले सवै खालका सुरक्षाका सावधानी अपनाउन सहज रहेको पर्वत जिल्लामा स्वास्थ्यकर्मी, स्थानीय तह र नागरिक समाजले संक्रमण फैलनबाट जोगाउन पहल गर्नुपर्ने सचिव गिरीको भनाई छ ।
कार्यक्रममा पत्रकार राजबाबु पिसी, वैगुण्ठ गिरी, सन्तोष थापा, लक्षमण सापकोटा लगाएतले कोभिड नियन्त्रणका विषयमा आफ्नो धारणा राखेका थिए । स्वास्थ्य कार्यालयका तेजप्रसाद सुवेदीले सञ्चालन गरेको कार्यक्रममा जिल्लाको कोभिडको अवस्थाको बारेमा स्वास्थ्य कार्यालयका प्रविण भण्डारीले प्रस्तुती गरेका थिए ।