
पर्वत – विश्व यतिवेला नाबेल कोरोना भाईरस (कोभिड–१९) बाट आक्रान्त छ । विश्वभरी यो भाईरसले तहत्का मच्चाईरहेको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि परिरहेको छ । नेपाल यतिवेला दुई साता लामो लकडाउनको चपेटामा छ । यस्तो बेला शहर बजार लगायत विभिन्न पेशा व्यावसाय गर्ने मानिसहरु बेकामे बनिरहेका छन् । कतिपय आफ्नो जन्मथलो फर्किरहेका छन् भने कतिपय शहरबजारमै भएपनि बेरोजगार बनिरहेका छन् ।
कोरोनाको संक्रमणको यो समयलाई अबसरमा परिणत गरि कृषि जन्य बस्तुको उत्पादनमा लाग्न कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले सुझाव दिनुभएको छ । गाउँगाउँमा बढ्दै गएको बाझो जमिनलाई उपयोग गरि अन्नवाली उत्पादनमा लाग्न ग्रामीण क्षेत्रमा फर्किएकाहरुलाई उहाँका सुझाव छ । यतिवेला बारीमा मकै छर्ने र खेतमा लगाएका मकै गोड्ने बेला भएको छ । त्यसैगरी चैते धान रोप्ने, मौसमी तथा बमौसमी तरकारीहरु लगाउने बेला पनि भएको छ ।
कोरोनाले अन्य पेशा व्यावसाय र सरकारी जागिर समेत बन्द भएका बेला तीनै उत्पादनमा लाग्न उहाँको सुझाव छ । कोरोनाका कारण विश्व ठुलो आर्थिक संकटमा फस्ने निश्चित भएको बताउँदै उहाँले अब भारतवाट पनि सहज रुपमा खाद्यान्न तथा बस्तुहरु आयात नहुने उहाँको भनाई रहेको छ । भारत, चीत लगायत नेपालमा निकासी हुने राष्ट्रहरुपनि कोरोनाका कारण चपेटामा परेका छन् उहाँले भन्नुभयो–‘यस्तो अवस्थामा विगतमा जस्तो खाद्यान्न, तरकारी, फलफुल आयात हुन सक्दैन ।’ यस्तो अवस्थामा भोकमरीबाट जोगिन अहिलेनै आ–आफ्नो बाँझिएको जग्गामा खेतीवाली लगाउन उहाँले सुझाव दिनुभएको छ ।
पर्वतमा करिव २८ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये अहिले मुस्किलले २४ हजार हेक्टर क्षेत्रफलमा खेती भैरहेको छ । खेती गरिएकोमा १५ हजार हेक्टर पाखो बारी रहेको छ भने ९ हजार हेक्टर खेत रहेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै ७ हजार हेक्टरमा सिंचाईको सुविधा पुगेको छ ।
अहिलेपनि खेतीयोग्य जमिन तीन हजार भन्दा बढि बाँझै रहेको छ । भने जग्गा बाँझो रहने क्रम वर्षेनी बढ्दो क्रममा रहेको ज्ञान केन्द्र प्रमुख रेग्मीको भनाई छ ।
कोरोना संक्रमणको लामो लकडाउनमा रहेका बेला निश्चित सामाजिक दुरी कायम गरि आ–आफ्नो खेतीयोग्य भूमिका अन्नवाली, तरकारी, फलफुल लगाउन उहाँले सुझाव दिनुभएको छ ।
बेलैमा आ–आफ्नो खेतवारीमा अन्नवाली लगाएर उत्पादन लिन सके भविष्यमा आईपर्ने भोकमरी र अन्नपातको अभावमा सहज हुने उहाँका सुझाव छ । अनिकालमा विऊ जोगाउनु, महामारीमा जीऊ जोगाउनु भनेझै यो महामारी पछि आईपर्ने संकटमा सहज रुपमा जीवनयापन गर्न उहाँले कृषिजन्य उत्पादनलाईनै बढाउनेपर्नेमा जोड दिनुभएको छ ।
पछिल्लो समय कृषि ज्ञान केन्द्र पर्वत र विभिन्न स्थानीय तहरुले कृषकहरुका लागि विभिन्न अनुदानमुलक कार्यक्रम, कृषिजन्य औजारदेखि विऊविजन र विरुवा सम्म वितरण गर्दै आएकाले कृषि पेशा गर्नेहरुले ति ठाउँमा सम्पर्क गर्न पनि उहाँको सुझाव रहेको छ ।
कृषिवाट आत्मनिर्भर हुने हो भने अहिले दुई साता लकडाउन हुँदा कसले राहत देला भनेर टुलुटुलु हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ ।