सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण - News site from Nepal
सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे  शल्यक्रिया कक्षमा लगिएको हो। चिकित्सकले शल्यक्रिया सम्पन्‍न गर्न ४ देखि ५ घण्टासम्म लाग्‍ने  बताएका छन्। मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन्।

त्रिवि अस्पताल स्रोतका अनुसार २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी भएका हुन् । ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी  भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्‍त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा प्रधानमन्त्री ओलीलाई राखिएको छ। अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।  अस्पतालका छतमासमेत सुरक्षाकर्मी तैनाथ छन्।

शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको छ। एक टोलीले दाताको शल्यक्रिया गर्ने र अर्को टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गर्नेछ। शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन्।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका हुन्। सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको विभिन्न परीक्षण गरेर शरीरलाई प्रत्यारोपणका लागि अनुकुल बनाइएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

त्रिवि शिक्षण अस्पतालको उच्च स्रोतले दिउँसो ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!