पर्वतमा साढे २ वर्षमा मात्रै ९७ जनाले गरे आत्महत्या - News site from Nepal
पर्वतमा साढे २ वर्षमा मात्रै ९७ जनाले गरे आत्महत्या

पर्वत : पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा पर्वत जिल्लामा आत्महत्या गर्नेहरूको संख्या बर्सेनि बढ्दै गएको पाइएको छ।
आत्महत्यालाई सामाजिक र कानुनी रूपमा अपराध तथा धार्मिक दृष्टिमा पापका रूपमा लिइएको भए पनि विभिन्न कारणहरूले आत्महत्या बढिरहेको छ।
तीन वर्षमा ९७ ले गरे आत्महत्या
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास थापाका अनुसार जिल्लामा गएका अघिल्ला दुई आर्थिक वर्षमा ७६ जना र चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्म २१ जना गरी ९७ जनाले आत्महत्या गरेका छन्।
प्रहरीले राखेको त्रिवर्षीय तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष ०७४/०७५ मा झुन्डिएर २७, विष सेवन गरेर २ र खोलामा हाम फालेर ७ गरी ३६ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष ०७५/७६ मा झुन्डिएर ३२, विष सेवन गरेर १ र खोलामा हाम फालेर ७ गरी ४० जनाले आत्महत्या गरेका थिए।
तीमध्ये १५ जना महिला र २५ जना पुरुष रहेका छन्। जसमा १६ देखि २५ वर्ष उमेर समूहभित्रका ४ जना महिला, २५ देखि ३५ वर्ष उमेर समूहभित्रका १ महिला र ७ पुरुष, ३५ देखि ४५ वर्ष उमेर समूहभित्रका ६ महिला र ४ महिला तथा ४५ वर्षभन्दा माथिको उमेर समूहका ३ महिला र १४ जना पुरुष रहेका छन्।
उक्त आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्याका घटनाहरू डोरीमा झुन्डिएर भएका छन् भने दोस्रोमा हाम फालेर रहेका छन्। आत्महत्या गर्ने महिलाको भन्दा पुरुषको संख्या बढी देखिएको छ। यस्तै, चालु आर्थिक वर्ष ०७६/०७७ को फागुन दोस्रो सातासम्म झुण्डिएर १८, औजार प्रयोग गरेर १ र खोलामा हाम फालेर २ जना गरी २१ जनाले आत्महत्या गरेका छन्।
चालु आर्थिक वर्षमा १६ देखि २५ वर्ष उमेर समूहका २ पुरुष, २५ देखि ३५ वर्ष उमेर समूहका १ महिला र ३ पुरुष, ३५ देखि ४५ वर्ष उमेर समूहका ३ पुरुष तथा ४५ वर्ष माथिको उमेर समूहका २ महिला र पुरुष रहेका छन्। चालु आर्थिक वर्षमा पनि आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्‍या नै बढी रहेको छ। चालु आर्थिक वर्षको हालसम्म जिल्लामा रहेका ७ वटा स्थानीय तहहरूमा भएका आत्महत्याका घटनालाई हेर्दा सबैभन्दा बढी फलेवास नगरपालिका र जलजला गाउँपालिकामा ६/६ वटा, कुस्मा नगरपालिकामा ५ वटा, मोदी गाउँपालिकामा २ वटा र महाशिलामा गाउँपालिकामा १ वटा आत्महत्या भएका छन्।
डेढ वर्षमा ५ बालबालिकाद्वारा आत्महत्या
जिल्ला प्रहरी कार्यालय पर्वतमा मुद्दा फाँट हेर्ने प्रहरी नायव निरीक्षक मोहन खड्काका अनुसार पछिल्लो समय बालबालिकाहरूद्वारा पनि आत्महत्या गर्ने क्रम बढेको छ। आर्थिक वर्ष ०७५/७६ मा १६ वर्ष मुनिकी एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी थिइन्। तर, चालु आर्थिक वर्ष ०७६/७७ को ६ महिनामा नै यो दर ४ गुणाले बढेको छ। फागुन १३ गतेसम्मको तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेरका ३ जना बालिका र १ जना बालकले झुन्डिएर आत्महत्या गरेका छन्।
बढ्दो प्रविधिका कारण पनि बालबालिकाहरू एकोहोरो बन्ने तथा आफ्ना माग पूरा नहुँदा पनि बालबालिकाहरूले आत्महत्या गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल बताउँछन्। बालबालिकाहरूले आत्महत्या गर्नुको दर बढ्दै जानुमा आमा र बुबाको बीचमा झगडा तथा सम्बन्धबिच्छेद अनि त्यसको सामाजिक प्रभावले बालबालिकालाई मनोवैज्ञानिक रूपमा गम्भीर असर गर्ने प्रहरी निरीक्षक थापाको भनाइ छ।
यस्ता छन् आत्महत्याका कारण
आत्महत्याका कारण भने धेरै प्रकारका हुने गरेका छन्। प्रहरी नायव उपरीक्षक श्यामु अर्याल डिप्रेसन, स्किजोफ्रेनिया, पर्सनालिटी डिसअर्डर, बाईपोलार डिसअर्डर, सबस्टेन्स अब्युज, आर्थिक समस्या, सम्बन्धबीचको समस्या, घरभित्र तथा बाहिरका हिंसा तथा अवहेलना, सामाजिक सञ्जालको दुरुपयोग, फिल्मका कहानी, परीक्षाको नतिजालगायत नै आत्महत्याका कारणहरू रहेको बताउँछन्। कतिपयमा भने वंशजले आत्महत्या गरेको भएमा वंशाणुगत रूपमा पनि त्यो सर्ने गरेको पाउने गरिएको छ। विश्वमा मानिस मर्नुको पहिलो कारण मातृत्व, दोस्रो मुटु रोग रहेजस्तै आत्महत्या १० औँ स्थानमा आत्महत्या रहेको एक तथ्यांकले देखाएको थियो।
प्रत्येक वर्ष १ लाख मृतकहरूमध्ये १२ जना आत्महत्या कारण मर्ने गरेको बताउँदै विकासोन्मुख देशमा महिलाको तुलनामा डेढ गुणा र विकसित देशमा ३.५ गुणा बढी पुरुषहरूले आत्महत्या गर्ने गरेको पनि तथ्यांक छ।
के भन्छन् मनोविद् ?
मानिसले विभिन्‍न असफलता निराशपन र डिप्रेसन आदि कारणले आत्महत्या गर्ने मनोविद्हरूको भनाइ छ।  समयमै कारणहरूको पहिचान गरी उचित परामर्श दिन सक्ने हो भने आत्महत्या न्यूनीकरण हुन सक्ने मनोविदहरूले बताउँदै आएका छन्।
दुःख, पीडा, चोट लगायतका समस्याहरू खेपेर आत्महत्याको शंकामा परेका व्यक्तिहरूको सहज ठाउँमा आत्महत्या  गर्न प्रयोग गरिने सामग्रीहरू नराख्‍ने, मुसा मार्ने औषधि वा तरकारीमा राखिने विषादी, एसिड किन्नु परेमा पारिवारिक व्यक्तिहरूलाई पनि सँगै लिएर जानुपर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका कुराहरू भएमा पनि आत्महत्या केही हदसम्म रोकिने सम्भावना हुन्छ।
मिडियाको भूमिका र  मद्धत 
कुस्माको शिवालय बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र पहाडीले आत्महत्या गरिएका समाचारहरू बारम्बार सञ्चारमाध्यमहरूमा आउँदा आत्महत्या गर्ने मनशाय लिएकाहरूलाई बल पुग्ने भएकाले मिडियाले पनि आत्महत्याका समाचारको ठाउँमा कसरी असल भएर बाँच्न सकिन्छ? भन्ने खालका सामग्रीहरू प्रकाशन तथा प्रसारण गर्नु राम्रो उपाय भएको बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!