पर्वत– धर्मग्रन्थहरुमा पबित्र भूमिको रुपमा ब्याख्या गरिएको पर्वतको उत्तरमा पर्ने कालञ्जर पर्वतमा रहेको प्राचिन मृग सरोवरलाई पुर्नजीवन दिन छिट्टै बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) बनाइने भएको छ ।
पौराणिक धार्मिक ग्रन्थहरुमा अत्यन्तै पबित्र तपोभूमि मानिएको कालञ्जर पर्वत र त्यहाँ अबस्थित मृग सरोवरलाई पुर्नजीवन दिन गण्डकी प्रदेश सरकारले डिपीआर बनाउन लागेको हो ।
कालञ्जर र मृग सरोवरलाई भारतको नैनीताललाई बिर्साउने गरि धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउका लागि प्रदेश सरकारले डिपीआर र पुर्बाधार बिकासका लागि बजेट समेत बिनियोजन गरेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले जानकारी दिनुभयो । कालञ्जरको फेदी पर्वतको जलजला गाउँपालिका वडा नं ३ मा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाको भवन उद्घाटन तथा १३ औ साधारणसभामा बोल्दै मन्त्री लम्सालले यस आर्थिक बर्षमा नै जलजलामा मृग सरोबर बनाउन डिपीआर तथा पुर्बाधार बिकासका लागि १ करोड रुपैंया प्रदेश सरकारले बिनियोजन गरेको जानकारी दिनुभयो । ‘कालञ्जर र मृग सरोवर धार्मिक ग्रन्थमा होइन प्रत्यक्ष रुपमा हेर्न सक्ने गरि बिकास गर्दैछौ’ मन्त्री लम्सालले भन्नुभयो ‘भारतको नैनीताललाई बिर्साउने गरि धार्मिक र पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न गण्डकी प्रदेश सरकार लागेको छ ।’ प्रदेश सरकारले डिपीआर बनाउन २० लाख र अन्य पर्यटकीय पुर्बाधार बनाउन ८० लाख रुपैया यसै आर्थिक बर्षमा खर्च गर्न लागेको छ ।
प्राचिन धर्मग्रन्थहरुका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । अग्निपुराण, बिष्णुपुराण र श्रीमद्भागवत महापुराणले राजर्षि जडभरलको तपस्थली र उनका तीन जन्म संग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पबित्र भूमिको रुपमा कालञ्जरको ब्याख्या गरेका छन । हिन्दु धर्मालम्बीहरुले पितृ उद्दारका लागि गंगासागर देखि मुक्तिनाथ सम्मका तीर्थस्थललाई पबित्रस्थलको रुपमा मानेका छन । गंगासागर जत्तिकै पबित्र तीर्थस्थलको रुपमा धर्मग्रन्थमा उल्लेख भएको प्राचिन मृग सरोवर अहिले सिमसार बनेको छ । कालञ्जर पर्वतका बिभिन्न टाकुरामा समथर भुगोल र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । जलजला गाउँपालिकाको नाम यसैबाट नामाकरण भएको छ ।
मन्त्री लम्सालले वारी बेनी देखि मल्लाज पुग्ने मोटरबाटोमा ज्यान हत्केलामा राखेर हिड्नुपर्ने अबस्थाको अन्त्य गर्ने आश्वासन पनि दिनुभयो । प्रदेश सरकारले यो सडकलाई स्तरउन्नती गर्ने छ, उहाँले भन्नुभयो । वर्तमान सरकार सम्बृद्धिको दिगो मार्गचित्र कोर्नका लागेका कारण जनताले चाहे जस्तै सम्बृद्धि र बिकास पाँच बर्षमा दिइने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले जलजला गाउँपालिकामा बिकास निर्माणका क्षेत्रमा पछाडी परेपनि संघ र प्रदेश सरकारले बिशेष योजना मार्फत परिर्वतनका लागि प्रयास गरिरहेको छ भन्नुभयो । उहाँले स्थानिय तहले जनताको आबश्यकता अनुसारका योजना निर्माणमा लाग्न जरुरी भएको कुरामा जोड दिनुभयो।
मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपाका जलजला गाउँपालिका अध्यक्ष दिपक आचार्य, नेपाली कांग्रेसका पालिका अध्यक्ष चन्द्रबहादुर जिसी, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, जलजला गाउँपालिका वडा नं ३ का अध्यक्ष देबेन्द्र भण्डारी, जिल्ला सहकारी संघ बागलुङ्गकी कोषाध्यक्ष हुमकुमारी जिसी(अञ्जु), नव सृजनशील सहकारीका अधयक्ष चन्द्रबहादुर खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत संस्थाका लेखा समितिका संयोजक धनपति सुबेदी र सञ्चालन सचिब रघुनाथ आचार्यले गर्नुभएको थियो ।
मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले १ करोड ५७ लाख रुपैंयाको लागतमा सहकारीको आफ्नै भवन निर्माण गरेको छ । ग्रामिण क्षेत्रमा निर्माण भएको सहकारीको भवनमा डिर्माटमेञ्टल स्टोर सञ्चालन गर्ने, सभाहल, ब्यापारिक प्रयोजनका सटरहरुको समेत ब्यबस्था गरिएको सहकारीका अध्यक्ष लालबहादुर अधिकारीले बताउनुभयो । सहकारीमा १ हजार १ सय भन्दा बढी बचतकर्ता रहेका छन भने ९ करोड रुपैंया भन्दा बढी लगानी गरेको छ ।