अस्पताल जानुअघि प्रधानमन्त्री ओलीको मार्मिक सन्देश : ‘जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न’ - News site from Nepal

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका उनले भिडियोमार्फत सन्देश मार्फत आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो जीवन संघर्षमा बितेको बताउँदै लोकतन्त्र र स्वतन्त्रताको लागि संघर्ष गरेकैले आफ्नो स्वास्थ्यमा समस्या आइरहेको दाबी गरेका छन्।

१२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गराएको उनले सम्झिएका छन्। त्यतिबेलाभन्दा अहिले मिर्गौला प्रत्यारोपण गर्न सहज भएको र अहिले थप सहज हुने उनले अपेक्षा राखेका छन्। नेपालमै अनुभवि नेपाली चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा आफूलाई गर्व लागेको उनले बताएका छन्।

विकास र समृद्धिका मुर्छित सपनालाई नेकपाले निर्वाचनमार्फत जागृत गराएको र तिनलाई बीचमै आफूले नछोड्ने बताए। उनले भनेका छन्, ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न।’

संसारमा कोही पनि अजम्बरी नहुने र आफू पनि अजम्बरी हुनका लागि ती कुरा नबताइरहेको ओलीको भनाइ छ। उनले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गरका छन्।

आफू अस्पतालमा रहेका बेला सरकार, पार्टी र संसद संचालनका लागि आवश्यक व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!