जग्गा कब्जाको नाममा भ्रम फैलाएर चरित्र हत्या गर्न खोजिएको भन्दै नाङलीवाङका वडा अध्यक्ष जिसीकोे आपत्ति - News site from Nepal

पर्वत– जलजला गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष हरिविकास जिसीले आफुमाथि जग्गा कब्जा गरेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरी जिसीले मने दमाईले जनमानसमा भ्रम फैलाउदै हिडेको बताए । उनले मने दमाईको बाबु चन्द्रे दमाईबाट आफ्नो बाबु इन्द्रबहादुर जिसीले २०४४ सालमा २६ हजार रुपैयाँमा किनेर हालसम्म भोगचलन गर्दै आएको जग्गालाई अनावश्यक रुपमा भ्रम फैलाइएको दाबी गरे ।
‘मेरो घर रहेको जग्गामा मेरो बुवा २०४२ सालदेखि बस्न थाल्नुभएको थियो, त्यतिबेला म दुई बर्षको थिए तर अहिले मेरो चरित्रहत्या हुने गरी वडा अध्यक्षले जग्गा कब्जा ग¥यो भन्दै हिडिएको छ’ वडा अध्यक्ष जिसीले भने । जलजला गाउँपालिका वडा नम्बर ८ (साविक नाग्लीवाङ गाविस वडा नम्बर ९ को कित्ता नम्बर १२ को घडेरी चन्द्रे दमाईको नाममा दर्ता भएको थियो । उनको जग्गाधनी पुर्जा भने थिएन ।
जग्गाधनी पुर्जा नभएको जग्गालाई पछि खुलेको समयमा पुर्जा बनाउने सर्तमा २०४४ सालमा आफ्नो बुवाले २६ हजार रुपैयाँमा किनेको वडा अध्यक्ष जिसीले बताए । चन्द्रेको २०५५ मंसिर १५ गते मृत्यु भएपछि २०६७ सालमा चन्द्रेको पत्नी अन्सारी दमाईको नाममा पुर्जा निस्केको थियो । २०६७ मंसिर ४ गते अन्सारीको नाममा पुर्जा बनेपछि राजीनामा पास गरिदिने शर्तमा मालपोत कार्यालय पर्वतका तत्कालिन प्रमुख दिवाकर पौडेल, तत्कालिन गाविस सचिव टेकनारायण सुवेदी, चन्द्रेका छोरा मने दमाई, मालपोतका कर्मचारी छविला भुसाल, धर्मदत्त शर्मालगायतको रोहबरमा मुचुल्का उठाइएको थियो ।
मुचुल्का उठेअनुसार मनेले जिसी परिवारलाई जग्गा राजीनामा पास नगरी आफ्नो जग्गा कब्जा भएको भन्दै पत्रकार सम्मेलन गर्दै हिँडेपछि जग्गाको बिषयमा विवाद सुरु भएको छ । ‘मैले कसैलाई अन्याय गरेको रहेछु भने मेरो नाममा भएको सबै सम्पत्ति बुझाउन तयार छु तर म दुई बर्षको हुँदा मेरो बुवाले किनेको जग्गामा अहिले आएर वडा अध्यक्षले कब्जा ग¥यो भनेर भ्रम छर्दा दुःख लागेको छ’ वडा अध्यक्ष जिसीले भने ।
उनले आफुले गतबर्ष पहिरो पीडित भएका दलित परिवारलाई घर निर्माणका लागि ठुलो पहल गरेको र एउटा दलित परिवारलाई अन्याय गर्ने आफ्नो कुनै स्वार्थ नरहेको पनि बताए । ‘उहाँको कुनै जग्गाजमिन छैन र बस्न समस्या भएको छ भने मैले कतै ब्यवस्था मिलाउन सक्छु तर कसैलाई नभएको भ्रम फैलाउन र चरित्रहत्या गर्न त भएन नी’ उनले भने । उनले जलजला गाउँपालिकामा दर्ता गर्न छुट भएका जग्गा थुप्रै भएको र त्यस्ता जग्गामा अहिले सयौ परिवार बसिरहेको बताए । जलजला ८ कै खड्कबहादुर केसीले आफुले सोही कित्ता नम्बरको जग्गा चन्द्रे दमाईबाट बलराम जिसीले किनेको र बलराममार्फत आफुले किनेकोले अहिले एकोहोरो वडा अध्यक्षमाथि लगाइएको आरोप निराधार भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा जलजला ८ का दलित सञ्जालका अध्यक्ष करे नेपालीले चन्द्रे दमाईले इन्द्रबहादुर जिसीलाई २०४४ सालमा जग्गा बिक्री गरेको साँचो भएको बताए । ‘त्यतिबेला चन्द्रे दमाईको परिवार जग्गा बिक्री गरेर चितवन गएका हुन, उनको छोरा मने मसँगै हुर्केको हो, यो जग्गामा मनेले दाबी गर्ने हो भने जलजलामा सयौ परिवारको उठीबास लाग्छ’ परियारले भने । जिसीको पत्रकार सम्मेलनमा स्थानीय दर्जनबढी बासिन्दाको सहभागिता रहेको थियो ।
यसअघि मने दमाईले आफ्नो जग्गा वडा अध्यक्षले कब्जा गरेको भन्दै काठमाडौ र चितवनमा पत्रकार सम्मेलन गरेका थिए । २०७२ सालदेखि जिल्ला प्रशासन कार्यालयले समेत यो विवाद मिलाउने प्रयास गरेपनि मिल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!