गति लिँदै कालीगण्डकी करिडोर, पर्वतको सेतीबेणी–रानीपानी खण्ड कालोपत्रे हुने - News site from Nepal

पर्वत ।उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको पर्वतको सेतीबेणी देखि रानीपानी खण्ड कालोपत्रे हुने भएको छ ।
करिडोरको मर्मी – कुस्मा खण्डमा पर्ने सेतीबेणी देखि रानीपानी सम्मको सडक कालोपत्रे गर्नका लागि ठेक्का प्रकृया अघि बढाउन अर्थमन्त्रालयले सहमति दिएपछि सडक कालोपत्रे हुने भएको हो । कुस्मा मिर्मी खण्डमा सडक बिस्तार र ट्रयाक खोल्ने काम धमाधम भैरहेको छ ।
सेतीबेणी देखि रानीपानी सम्मको ७ किलोमिटर सडक कालोपत्रे ४१ करोड ८६ लाख रुपैयाको बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्न अर्थमन्त्रालयले बिहीबार सहमति दिएको छ । अर्थ मन्त्रालयले उत्तर दक्षिण कालीगण्डकी करिडोर आयोजना गैडाकोट – मालढुंगा आयोजनाले यस बर्ष भित्रै ठेक्का सम्झौता गर्ने गरि प्रकृया अगाडी बढाउने तयारी गरेको छ ।
यस बर्षभित्रै सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता र केही काम गर्न सक्ने लक्ष्यका साथ काम थालिने पर्वत खण्डका इन्जिनियर अर्जुन नेपालीलेले जानकारी दिनुभयो । ‘सेतीबेणी–रानीपानी सडक कालोपत्रे गर्नका लागि यस बर्षभित्रै ठेक्का सम्झौता हुन्छ’, उहाँले भन्नुभयो ‘राम्रो ठेकेदार परेमा असारभित्र बिस्तारको केही काम गर्न सकिन्छ ।’
सेतीबेणी देखि रानीपानी सम्मको खण्ड कालोपत्रे गर्न अर्थमन्त्रालयमा बजेट सहमति दिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका मन्त्री बिकास लम्साल र पर्वतका प्रतिनिधीसभा सदस्य पदम गिरीले निरन्तर पहल गर्दै आउनुभएको थियो । अर्थले सहमति दिएपछि उहाँहरुले पर्वतबासीका लागि एउटा थप उपलब्धी भएको प्रतिकृया दिनुभएको छ ।
करिडोरको पर्वत खण्डमा रानीपानी देखि फलेबासको चिर्दीखोला सम्मको २२ किलोमिटर खण्डमा बिस्तारको काम भैरहेको छ । केही ठाउँमा ट्र्याक परिर्वतन गरेर बिस्तारको काम भैरहेको छ । अहिले रानीपानी देखि फलेबास खण्डको सडक बिस्तारको काम ६५ प्रतिशत काम सकिएको इन्जिनियर नेपालीले जानकारी दिनुभयो । पर्र्वतको मुडिकुवा देखि अर्मादी र स्याङ्गजाको मोहनडाँडा देखि मिर्मी सम्मको थोरै भूगमा बाँकी रहेको ट्रयाक खोल्ने काम पनि भैरहेको छ । अर्मादी देखि मोदीबेणी सम्मको ६ किलोमिटर मध्ये ४ किलोमिटर सकिएको छ भने फलेबास सम्मको १४ किलोमिटरमा केही ठाउँमा काम बाँकी छ । सुर्य कन्ट्रक्सनले जिम्मा लिएको यो खण्डमा भने काम पनि तीब्र बनाउन सकेको छैन ।
भारत संगको सिमाना सुनौली देखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्ला सम्म पुग्ने गैंडाकोट –मिर्मी–फलेबास–जोमसोम–कोरल्ला’ सडक ३ सय ७७ किलोमिटर लामो छ । सेतीबेणी –मिर्मी खण्डामा पर्ने पिंडीखोलाको ठुलोखोला देखि मिर्मी सम्मको १ सय मिटर कठिन पहरोमा ट्रयाक खोल्न बाँकी छ भने पर्वतको मोदीबेणी देखि अर्मादी सम्म मात्रै डेढ किलोमिटर मिटर ट्रयाक खोल्नका लागि काम भैरहेको छ ।
त्यसका लागि ३९ करोड ३० लाख बजेट बिनियोजन भएको छ । अहिले पनि आँधीखोला, मोदीखोला, लमायखोला र सेतीखोलामा पक्कीपुल निर्माणका लागि काम शुरु भएको छ ।
कालीगण्डकी करिडोरको पर्वत –मिर्मी खण्ड जम्मा ५५ किलोमिटर छ भने बागलुङ्ग–गुल्मी–पाल्पा खण्ड यो भन्दा झण्डै ३० किलोमिटर बढी छ । पर्वत खण्डमा समयमा पुल र सडकको काम सक्ने हो भने उत्तर दक्षिण आउने सवारी साधनहरु यही मार्गलाई प्रयोग गर्ने संभाबना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!