कुश्मा- शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुखलाई समसामयिक शैक्षिक सवालहरुलाई समेटेर ध्यानाकर्षण पत्र बुझाइएको छ ।
सार्वजनिक शिक्षा सुदृढीकरणका क्षेत्रमा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल पर्वतले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा जिल्लाका सार्वजनिक विद्यालयहरुको सवलीकरण गरिनुपर्ने, विद्यालयहरुलाई अपाङ्ग तथा छात्रामैत्री बनाइनुपर्ने, जेण्डर फोकल शिक्षकको व्यवस्थालाई अनिवार्य गरिनुपर्ने, स्थानीय सरकारहरुको शैक्षिक भूमिकालाई प्रभावकारी बनाउन समन्वय गरिनुपर्ने, स्थानीय सरकारहरुले शिक्षाक्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने, जिल्लाका मदरसा र संस्कृत पाठशालाका समस्यालाई संबोधन गरिनुपर्ने एवम् दिगो विकास लक्ष्य ४ को मर्मअनुरुप काम गर्नुपर्नेलगायतका १० बुँदे माग उल्लेख गरिएको एनसिई नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीले बताउनुभयो ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्दिमराज पौडेलले आफ्नो कार्याधिकारभित्र रही ध्यानाकर्षण पत्रमा उल्लिखित माग संबोधन गर्न इमान्दार पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सर्वसाधारण नेपालीका छोराछोरीले पढ्ने सार्वजनिक बिद्यालयको स्तर नउठाएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने भएकाले सबै मिलेर सार्वजनिक शिक्षालाई माथि उठाउन लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतका सदस्य संस्थाका प्रतिनिधिहरु राजेन्द्र पहाडी, यज्ञप्रसाद शर्मा, भिमबहादुर नेपाली, रमेशप्रसाद रिजाल, ऋषिराम भुषाल, बलिनारायण रेग्मीलगायत इकाइ कार्यालय पुगेका थिए । एनसिई नेपाल पर्वतमा सीड नेपाल, निबृत्त शिक्षक समाज, गैसस महासंघ जिल्ला शाखा, सोडेक नेपाल, इन्प्रेड नेपाल, राष्ट्रिय दलित विकास संस्था, नेपाल अपाङ्ग उत्थान समाज, आरम्भ नेपाल र रेडियो कुशुम गरी नौ वटा संस्थाहरु आबद्ध रहेकाछन् । स्मरणरहोस् विभिन्न कार्यक्रमहरु आयोजना गरी एनसिई नेपालले बैशाख १० गतेदेखि १७ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाइरहेको छ ।






