बंगलादेशको संसदीय टोली र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता - News site from Nepal
काठमाडौं –  नेपाल भ्रमणमा रहेको बंगलादेशको संसदीय टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति मनोरञ्जन शिल गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेको हो ।
नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसंख्यकको प्रतिनिधित्व तथा अधिकार बारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसंख्यक बारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहसम्म सो समुहको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउनुभयो ।
‘नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारिरिक अवस्था लगायतका आधारमा भेदभाव नगरिने कुरालाई सुनिश्चित गरेको छ,’ उहाँले भन्नुभयो, ‘संघीय संसदले पनि यस सम्बन्धि मौलिक तथा अन्य थुप्रै कानुन निर्माण गरिसकेको छ ।’
अध्यक्ष तिमिल्सिानले नेपाल र बंगलादेशबीच थुप्रै समनाता रहेको बताउँदै यो भ्रमणबाट नेपालीको जीवनशैली, विकास, दलित तथा आदिवासीको अवस्था र अधिकार बारे जानकारी लिन उपलब्धीमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।
दुई देश बीच शिक्षा, स्वास्थ्य, व्यापार, उर्जा, कृषि लगायतका क्षेत्रको सहकार्यलाई अझै बढाउनु पर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिनुभयो । ‘हामीबीच थुप्रै अन्तर्राष्ट्रिय विषयमा पनि समान धारणा रहँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘अबको सहकार्य र सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउँदै जानुपर्छ ।’
उहाँले भ्रमण दलमार्फत नेपाल भ्रमण वर्ष २०२० मा बंगलादेशका नागरिकलाई नेपाल भ्रमण गर्न निम्ता गर्नुभयो ।
बंगलादेशको प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै सभापति मनोरञ्जन शिल गोपालले नेपालले दलित र आदिवासीका अधिकार बारे गरेको कानुनी व्यवस्था प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले बंगलादेश सरकार दलित, अल्पसंख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारका लागि लागिपरेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बंगलादेशले सिक्दै कानुनी रुपमै सुधार गर्नेछ ।’
सभापति शिल गोपालले नेपाल र बंगलादेशबीच व्यापार, उर्जा, शिक्षा र पर्यटन क्षेत्रको सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी उहाँले नेपालको संसदको तर्फबाट अध्यक्ष तिमिल्सिनालाई बंगलादेश भ्रमणका लागि आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!