
पर्वत । गुडनेबर्स इन्टरनेशनल, पर्वतले दृष्टिबिहीन बालबालिकालाई स्कुल ब्याग वितरण गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
शिवालय माध्यमिक विद्यालय कुश्मामा रहेको दृष्टिबिहीन श्रोत कक्षामा अध्ययनरत २५ जना छात्रछात्रालाई गुडनेबर्स इन्टरनेशनल पर्वतले स्कुल ब्याग उपलब्ध गराएको हो । संस्थाको २८ औं स्थापना दिवसको सन्दर्भमा आज दृष्टिबिहीन छात्राबास परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र गिरीसहितका अतिथिहरुले विद्यार्थीहरुलाई ब्याग वितरण गर्नुभएको थियो । प्रमुख अतिथि रहेका वडा अध्यक्ष गिरीले गुडनेबर्स इन्टरनेशनल पर्वतले शिक्षाक्षेत्रमा गरेको रचनात्मक कामको प्रशंसा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले संस्थाको यस प्रकृतिको सहयोगले दृष्टिबिहीन भाइबहिनीहरुको शैक्षिक गतिविधि सञ्चालनमा सकारात्मक सहयोग पुग्ने विचार राख्नुभएको थियो ।
कार्यक्रममा गुडनेबर्स इन्टरनेशनल, पर्वतका जिल्ला संयोजक खेम रोकायाले आफ्नो संस्थाको स्थापना दिवसमा विशेष अवस्थामा रहेका बालबालिकाहरुलाई थोरै भएपनि सहयोगका हात फैलाउन पाउँदा निकै हर्षित भएको बताउँदै आगामी दिनमा पनि कठिन अवस्थाका बालबालिकाले सहज ढंगले शिक्षा हासिल गर्न पाउने वातावरण सुनिश्चित गर्न संस्थागतरुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शिवालय माविका प्रधानाध्यापक भुपेन्द्र चापागाई, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडी र कुश्मा नगरपालिका वडा नं. ६ का वडा सदस्य डम्बर गिरीले पनि मन्तव्य राख्नुभएको थियो ।
गुडनेबर्स इन्टरनेशनलका टेक रावल, सहयोगी संस्था सोडेक नेपालका ऋषिराम भुषाल, रमेशप्रसाद रिजाल, एनसिसिडिसीका टिका जिसी, जायश्वर पौडेल, शिवालय माविका शिक्षकद्वय पूर्णहरी रेग्मी र हरिदत्त शर्मालगायतको सहभागिता रहेको उक्त कार्यक्रममा जीएनआईको तर्फबाट पर्वत जिल्ला संयोजक खेम रोकायाले गुडनेबर्स इन्टरनेशनलको संक्षिप्त परिचय राख्नुभएको थियो । सन् १९९१ मा दक्षिण कोरियाका कठिन अवस्थाका बालबालिकालाई सहयोग गर्ने उद्धेश्यले स्थापना भएको जीएनआई हालसम्म आइपुग्दा ३५ वटा देशहरुमा शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यावरण संरक्षण तथा आयआर्जनका क्षेत्रमा क्रियाशील रहेको छ भने नेपालमा सन् २००२ देखि पर्वतसहित विभिन्न २० जिल्लाहरुमा आफ्ना कार्यक्रमहरु सञ्चालन गरिआएको छ ।