पौडेल पक्षको अनुपस्थितिमै देउवाको कार्यकाल एक बर्ष थप - News site from Nepal
पौडेल पक्षको अनुपस्थितिमै देउवाको कार्यकाल एक बर्ष थप

काठमाडौं : असन्तुष्ट पक्षको अनुपस्थित हुँदाहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थप गरेका छन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशन एक वर्षपछि धकेलिएको छ।
पार्टी विधानतः सभापतिको यो तजबिजको अधिकार भएको बताइन्छ। नेपाली कांग्रेसको असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको मिति तोकेको छ। शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी मिति घोषणा गरेको हो। यस्तै, बैठकले केन्द्रीय विभागहरु थप्ने निर्णय गरेको छ। भातृसंगठन तरुण दलको म्याद ६ महिना थपेको छ।
नेविसंघबारे निर्णय गर्ने अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको जनाइएको छ। आन्तरिक विवाद समाधान नभएको भन्दै असन्तुष्ट पक्षले शुक्रबार पनि केन्द्रीय समितिको बैठक बहिस्कार गरेको थियो। आन्तरिक विवाद समाधान नभएसम्म बैठकमा सहभागी नहुने भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बोलाएको बैठक बहिस्कार गरेको हो।
दिउँसो पूर्वमहान्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको असन्तुष्ट पक्षका नेताहरुको बैठकले सभापति देउवा विवाद समाधान गर्न तत्पर नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।
गएको मंसिर २६ गते बसेको बैठकमा सभापति देउवाले प्रस्ताव गरेका विभागहरु, विभागको नेतृत्व र भातृसंगठनको तदर्थ समिति गठनलगायतका विषयमा इतर पक्षको असहमति छ, यो खबर राजधानी दैनिकमा छापिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!