पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौमा निजि विद्यालय छाडेर सामुदायिक विद्यालयमा बालबालिका भर्ना गराउने अभिभावकलाई सम्मान गरिएको छ ।
शनिवार एक कार्यक्रममा बीच स्थानीय वनौ माविमा विद्यार्थी भर्ना गराउने अभिभावकहरुलाई सम्मान गरिएको हो ।
सरकारी निकायमा आवद्ध र जनप्रतिनिधिहरुले अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको जलजला गाउँपालिका वडा नं. ९ बनौमा सवै जनप्रतिनिधि र शिक्षक तथा अभिभावकहरुका बालबालिका सामुदायिकमा भर्ना गरिएको छ ।
वडा अध्यक्ष गौवहादुर पुनले आफ्नी छोरीलाई निजि विद्यालवाट छुटाएर शनिवार स्थानीय बनौ माविमा भर्ना गराए । उनि मात्र हैन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वर बहादुर पुर्जाले पनि आफ्ना दुई छोरीलाई कक्षा १ र कक्षा ४ मा भर्ना भए । त्यस्तै वडा सदस्य पार्वती सर्किनीले २ वटा छोराछोरी, विव्यस सदस्य टिकाराम पुर्जा, शिक्षिका गौमाया पुर्जा, मनकुमार गर्वुजा, सविता फगामी लगायतले पनि आ–आफ्ना बालबालिकालाई गाउँमै रहेको र केहि सदरमुकाममा रहेको निजि विद्यालयबाट छुटाएर गाउँमै सामुदायिक विद्यालयमा लगेका छन् ।
यस शैक्षिक सत्रदेखि विद्यालयमा गुणस्तर समेत सुधार भएको छ । अंग्रेजी माध्यममा पढाई र तल्लो तहमा निजि विद्यालय जस्तै नर्सरी, केजी लगायत मन्टेश्वरी प्रविधिबाट पठनपाठन शुरु गरिएको वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिए । शनिवारसम्म विद्यालयमा झण्डै १ सय जना विद्यार्थी भर्ना भएका छन् जस मध्ये झण्डै ३० जना निजि विद्यालयबाट सामुदायिकमा स्नान्तरण भएका हुन् ।






