पर्वतको जलजला गाउँपालिकाद्धारा निर्माणाधीन वीपी स्मृति भवनको लागि १० लाख विनियोजन - News site from Nepal

पर्वत/ नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिद्वारा निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको छ । जलजला गाउँकार्यपालिकाको आइतबार बसेको पूर्ण बैठकले वीपी स्मृति भवनको लागि उक्त रकम सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको जलजला गाउँपालिकाका अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक यामबहादुर मल्ल रामकृष्णले जानाकारी दिनुभयो । ‘ वीपी काँग्रेसको मात्र नभएर सिंगो राष्ट्रको नेता भएकोले उहाँको स्मृतिमा बन्न लागेको भवनमा सबै कार्यपालिका सदस्यज्यूहरुले हार्दिकता देखाउनु भयो ।’- अध्यक्ष मल्लले भन्नुभयो । राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएका अन्य नेताहरुको स्मृतिमा समेत गाउँपालिकाले आगामी दिनमा पनि बजेट विनियोजन गर्ने मल्लको भनाई छ ।

अध्यक्ष मल्लले भवन निर्माणका लागि आफ्नो तर्फबाट पाँच लाख सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छभने जलजलाका विभिन्न जनप्रतिनिधिहरु र अन्य शुभेच्छुकहरूबाट समेत लाखौं रुपैयाँ सहयोग प्राप्त गर्ने अपेक्षा गर्नु भएको छ । मल्लले भवन निर्माणमा सहयोग गर्न नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संघ संस्थाका साथै देश तथा विदेशमा रहेका विभिन्न शुभेच्छुकहरूसँग हार्दिक अपिल गर्नुभएको छ । भवन निर्माण समितिले मोहनचोकको एक रोपनी क्षेत्रफलमा तीनतलाको सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । पछिल्लो समय उदीयमान युवाका रूपमा राजनीतिमा सक्रिय मल्ल नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत हुनुहुन्छ । अध्यक्ष मल्लको अग्रसरतामा स्वर्गीय मोहनबहादुर मल्लको परिवारले ९० लाख बराबरको जग्गा निशुल्क उपलब्ध गराएको थियो ।

निर्माणाधिन भवनको गत फागुन २७ गते नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नु भएको थियो । स्वर्गीय मोहनबहादुर मल्ल नेपालको प्रजातान्त्रिक आन्दोलनका कुशल योद्धा र नेपाली साहित्यका उज्वल नक्षत्रमा रूपमा परिचित हुनुहुन्छ भने शैक्षिक र सामाजिक क्षेत्रमा उहाँको परिवारले समेत अग्रणी भूमिका खेल्दै आएको छ । वीपी स्मृति भवन निर्माण परिसरमै स्वर्गीय मोहनबहादुर मल्लको शालिक समेत निर्माण गरिने वताइएको छ ।

यसैगरि जलजला गाउँपालिकाको आजै सम्पन्न बैठकले विभिन्न चाडपर्वलाई मध्यनजर गर्दै गाउँपालिका भित्रका सडकहरूको मर्मत गर्नेगरी २० लाख रकम विनियोजन गरेको वताएको छ । साथै यात्रुहरुको सहज आवागमनमा लागि ग्रामीण सडकमा चल्ने सबारीसाधनमा भाडा समायोजन गर्ने लगायतका निर्णयहरु गरेको गाउँपालिकाका प्रवक्ता देवेन्द्र भन्डारी रविले जानाकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!