
पर्वत- दक्षिण पर्वतको विहादी गाउँपालिकामा प्रहरी चौकी निर्माण गर्नका लागि स्थानीयले निशूल्क जग्गा प्रदान गरेका छन् ।
विहादी गाउँपालिकाको वडा नं. ३ रानीपानीमा प्रहरी चौकीको आफ्नै भवन निर्माण गर्न स्थानीय बाबुराम क्षेत्रीकी श्रीमती ८० वर्षीया सुमित्रा क्षेत्रीले निशुल्क रुपमा दिनुभएको हो । क्षेत्रीले अन्दाजी साढे २ लाख पर्ने ३ आना १ पैसा क्षेत्रफलको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।
प्रहरी चौकी रानीपानीको आफ्नो नाममा जग्गा नहुँदा सुविधा सम्पन्न भवन निर्माण हुन नसकिरहेका बेला क्षेत्रीले उक्त जग्गा सहयोग गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरिक्षक स्यामु अर्याल र स्थानीय जनप्रतिनिधिहरुको पहलमा जग्गा हस्तान्तरण भएपछि अब प्रहरी चौकीको भवन बन्ने भएको छ ।
समाजमा शान्ति सुरक्षाको प्रत्याभुतिको लागी प्रहरीको भुमिका अहम रहने र प्रहरी बिना समाजको कल्पना समेत गर्न नसकिने भन्दै समाजसेवी क्षेत्रीले उक्त जग्गा सहयोग गर्नुभएको प्रहरीले जनाएको छ ।
क्षेत्रीले उक्त जग्गाका लालपुर्जा समेत जिल्ला प्रहरी प्रमुख अर्याललाई हस्तान्तरण गर्नुभएको छ । क्षेत्रीले जिल्ला मालपोत कार्यालयमै आएर जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको हो । लालपुर्जा ग्रहण गर्दै अर्यालले जग्गा सहयोगले समुदाय र प्रहरीको अन्तर सम्वन्ध समेत प्रगाढ हुने बताउनुभयो । यस्तो सहयोगले प्रहरीले समाजको हितको लागि गर्ने कार्यमा थप मनोवल प्रदान गर्ने भन्दै जग्गादातालाई उहाँले धन्यवाद समेत दिनुभएको थियो ।