पर्वत–पर्वतको सदरमुकाम कुश्माबजारलाई विभन्न वडाहरुसँग जोड्ने सिल्मी,–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रे हुने भएको छ ।
झण्डै २० वर्ष अघि खुलेको उक्त सडक कालोपत्रे गर्नका लागि टेण्डर आव्हान भएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष पहलमा यस वर्ष रु १० करोड रुपैया बिनीयोजन भएपछि कालोपत्रे गर्नका लागि टेण्डर आव्हान भएको छ । अध्यक्ष तिमिल्सिनाको निरन्तरको पहलपछि संघीय सरकारवाट बजेट बिनीयोजन भएको थियो । पूर्वाधार विकास कार्यालय पर्वतले उक्त सडक कालोपत्रेका लागि टेण्डर आव्हान भैसकेको जनाएको छ ।
यस वर्ष सिल्मीदेखि साढे ४ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । ३ दशमलब ७५ मिटर चौडा पिच हुने सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न हुनेगरी टेण्डर आव्हान भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।
सडक खुलेपनि गुणस्तरीय नहुँदा त्यस क्षेत्रका बासिन्दाहरु लामो समयदेखि जोखीमपुर्ण यात्रा गर्न बाध्य भएका थिए । उक्त सडक कालोपत्रे भएपछि कुश्मा नगरपालिकाको पकुवा, ठुलीपोखरी, खौलालाकुी हुँदै फलेवास नगरपालिकाको कार्किनेटा, थापाठाना, भँगरा लगायतका बासिन्दाहरुलाई सदरमुकाम आउजाउका लागि सहज हुने कुश्मा नगरपालिका वडा नं. ११ का अध्यक्ष शिवप्रसाद पौडेलले बताउनुभयो । उहाँले उक्त सडकमा बजेट माग गर्नका लागि आफुले पनि निरन्तर प्रयास गरेको बताउनुभयो ।
त्यस्तै कुश्मा मोदीवेनी सडक पनि कालोपत्रे गर्नका लागि बजेट बिनीयोजन भएको छ । गण्डकी प्रदेश सरकारवाट एक वर्ष भित्र सम्पन्न गर्नेगरी रु २ करोड ६५ लाख रुपैया बिनीयोजन भएको सडक निर्माण समितिका सचिब ढाकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडक पनि यसैवर्ष कालोपत्रे भैसक्ने छ । तेह« सय मिटर लामो उक्त सडक कालोपत्रे गर्नका लागि गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा बजेट बिनीयोजन भएको हो । महत्वपुर्ण पर्यटकीय स्थल मोदीवेणी र कालीगण्डकी लोकमार्गसँग कुश्माबजारलाई जोड्ने यो सडकको पनि टेण्डर आव्हान भैसकेको कार्यालयले जनाएको छ ।
पूर्वाधार कार्यालयले शुक्रवार पर्वत र बागलुङका गरी विभिन्न ११ वडा सडकको टेण्डर आव्हान गरेको जनाएको छ ।






