काठमाडौं : तपाईं आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नुभएको छैन? छ भने उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ । बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा उनीहरूलाई नै काम गर्न प्रेरित गर्नुपर्छ।
बालविशेषज्ञ डा प्रज्ञा प्रधान भन्छिन्, “कुनै पनि काम गर्दा गल्ती भयो भने अरूको तुलना गर्नु हुँदैन, बरु उनीहरूलाई विस्तारै काम गर्न प्रेरित गर्नुपर्छ।” “हामीलाई लाग्छ, हाम्रा छोराछोरीले केही गर्न जान्दैनन्, त्यही कारण आफैँ गरिदिन्छौँ तर हामीले यसरी उनीहरूको काम गरिदिँदा वा सबै कुरामा सहयोग गर्दा उनीहरू परनिर्भर हुन्छन्,” पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा रवि शाक्य बताउछन्। परनिर्भरताले बालबालिकाको व्यक्तित्व विकास हुन नसक्ने उनको धारणा रहेकाे खबर गाेरखापत्र दैनिकमा छ। उनी बालमनोविज्ञान विश्लेषण गर्दै भन्छन्, “बालबालिकाको काम उनीहरूलाई नै गर्न दिनु राम्रो हो ।
यद्यपि तपाईंले आदेश दिए जसरी काम अह्राउनेभन्दा पनि प्रेरित गर्ने हो । बच्चाहरूलाई विद्यालयबाट फर्केपछि जुत्ता÷मोजा सही ठाउँमा राख्न सिकाउने, झोला तथा लुगाहरू मिलाउन लगाउने र नास्ता उनीहरूलाई आफैँ खान दिनुपर्छ।” “हामी सबै काम आफैँ गर्छौं, जसले उनीहरूको मस्तिष्कमा सिक्ने चाहना हुँदैन, यो मेरो बुवाआमाले गरिदिनुहुन्छ जस्तो भावना हुन्छ, त्यसैले आफ्ना काम आफैँ गर्न सिकाउनुपर्छ,” डा शाक्यले प्रस्ट पारे।
उनका अनुसार बालबालिकालाई काममा सहयोग गर्ने हो तर आफैँ गरिदिने होइन। बालशिक्षाका विशेषज्ञ कुमुद भट्टका अनुसार बच्चाले राम्ररी खान सक्दैन, यताउता छरिदिन्छ भनेर आफैँ खुवाउनुहुन्छ भने त्यो गलत हो। बच्चाको उमेर बढ्दै गएपछि आफैँ खान सिक्छन् तर उसलाई सिक्ने अवसर नै हामीले दिँदैनौंँ। हिजोआज प्रायः सबैको एक वा दुई बच्चा हुन्छन्, उनीहरूलाई केही काम गर्न लगाउँदैनौँ तर यसको असर आफ्नो बालबालिकामा पर्ने हामी बिर्सिन्छौँ।






