पर्वतको ऐतिहासिक ठुलीपोखरी भरेर ताल बनाईदै, पर्यटन व्यावसायनै गण्डकी प्रदेशको मुख्य आधार ः मन्त्री लम्साल - News site from Nepal

माधव पराजुली पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी मर्मत सम्भार कार्य शुरु गरिएको छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बाट विनियोजित रकम २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी बाह्रै मास पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो ।
झण्डै दुई सय वर्षपुरानो झण्डै सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठुलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिँले पानी विहिन तथा मर्मत संरक्षण हुन नसक्दा जिर्ण बनेको पोखरीलाई मर्मत सम्भार गरिने छ भने पोखरीको गहिराई समेत बढाईने योजना छ । उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर संकलन गरि पर्यटकीय र आर्थिक विकासको हिसावले सञ्चालन गर्ने योजना समेत रहेको ठुलीपोखरी संरक्षण तथा मर्मत सम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिनुभयो ।
पहिलो चरणमा मन्त्रालय बाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिने छ ।
उक्त ठूलीपोखरीको मर्मत सम्भारको काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शुक्रवार शुभारम्भ गर्नुभएको छ । शिलान्यास गर्दै मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले जल तथा ताल बाट समृद्धिको पथमा हिड्न सकिने निस्कर्षका साथ पुराना पोखरी, चौतारी, ऐतिहासिक मठ मन्दिरहरुको संरक्षणमा लागेको बताउँदै ठुलीपोखरीमा कृतिम ताल बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्दा आय—आर्जन र रोजगारी सृजना गर्ने एउटा महत्वपुर्ण माध्यम बन्ने बताउनुभयो ।

प्रदेश सरकारले गण्डकी प्रदेशका २ हजार भन्दा बढी ताल तथा पुराना पोखरीहरुलाई संरक्षण गर्न र पानीको अधिकतम सदुपयोग गर्न ताल प्राधिकरण समेत गठन गरेको बताउनुभयो । मानव जिवन पानी सँग जोडियोको चर्चा गर्दै मन्त्री लम्सालले पोखरी तथा तालहरुको संरक्षण गरी पर्यटकीय स्थलकोरुपमा विकास गर्न सकिने बताउनुभयो ।
मन्त्री लम्सालले तालको पूर्ण काम सम्पन्न भएसँगै यहाँ सम्म आउने सडक कालोपत्रे हुने देखि उत्पादकत्व बृद्धि हुने र रोजगारीको वातावरण सिर्जना हुने दावी समेत गर्नुभयो ।
सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य जुनादेवी नेपालीले संसारको सबैभन्दा ठुलो उद्योग रहेको चर्चा गर्दै नेपालमा पर्यटन बाटनै विकास र समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले ऐतिहासिक धाीर्मक महत्वका पुराना मठ, मन्दिर देखी पोखरीहरुलाई संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले समृद्धिको पहिलो आधार पर्यटन भएकाले ठुलीपोखरीमा बन्न लागेको कृतिम तालले समृद्धिको मार्गमा हिडाउने दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सदस्य मेघनाथ सुवेदी, केशव कुवँर सिर्जनशिल, कुश्मा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र पौडेल, नेकपाका नेता गोविन्द पहाडी, नेपाली कांग्रेसका कुमार सुवेदी, समृद्ध ठुलीपोखरी यूवा क्लवका अध्यक्ष प्रकाश गदाल लगायतले बोल्नुभएको थियो । समितिका अध्यक्ष ढाकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत युगनाथ पौडेल र संचालन बाबुराम पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!