सीमा विवादबारे ध्यानाकर्षण गर्न भारतलाई ‘कूटनीतिक नोट’ - News site from Nepal
सीमा विवादबारे ध्यानाकर्षण गर्न भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौं : भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ।  परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार कूटनीतिक नोट दिल्लीलाई पठाइएको हो।
यसकै आधारमा नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने दाबी पनि अधिकारीको रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय उच्च अधिकारीसँग भेट गरी समस्या समाधानको पहल गरेका थिए।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो विषयमा नेपालले भारतसँग आरम्भदेखि नै कूटनीतिक पहल गरिरहेको बताए। ‘सगरमाथा संवाद’ सचिवालयको आरम्भ गर्दै मन्त्री ज्ञवालीले भारतसँग कूटनीतिक छलफल भइरहेको बताएका हुन्। सरकारले बाहिर बोल्ने मात्र होइन, भित्र आफ्ना तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको दाबी उनले गरे।
भारतले कात्तिक १७ मा जारी गरेको नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई अतिक्रमण गरेको छ। सरकारले कात्तिक २० मा विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपाली भूभाग रहेको विषयमा आफू स्पष्ट रहेको बताएको थियो। त्यो वक्तव्यलाई झारा टार्ने भनी आलोचना भएको थियो। त्यसको भोलिपल्ट भारतको विदेश मन्त्रालयले आफ्नो राजनीतिक नक्सामा भारतको सार्वभौम भूमि रहेको उल्लेख गरेको थियो।
उसले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको भन्दै नेपालको धारणालाई अस्वीकार गरेको शैलीमा जवाफ दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!