समृद्धिको यात्रामा पर्वत, लमाय–लुंखु र अर्मादी– बनौ सडकको काम धमाधम - News site from Nepal

पर्वत । पर्वतको दक्षिणी क्षेत्रका लागि ‘जीवन रेखा’ फलेबासको लमायखोला देखि महाशिलाको लुंखु सम्म जोड्ने सडकमा अहिले सडक चाक्लो बनाउने, नाली खन्ने तथा टेवा पर्खाल लगाउने काम धमाधम भैरहेको छ ।
फलेबास नगरपालिकाको लमाय देखि महाशिलाको लुंखु सम्म पुग्ने १३ किलोमिटर लामो सडक कालोपत्रे गर्नका लागि धमाधम काम हुन थालेको हो । सडक चाक्लो बनाउने र नाली तथा टेवा पर्खाल लगाउने काम सहित सडकको १५ प्रतिशत भन्दा बढी काम भैरहेको छ ।
लमायखोला –लुंखु मात्रै होइन कुस्मा नगरपालिकाको अर्मादी देखि जलजला गाउँपालिकाको बनौं जोड्ने सडकमा पनि अहिले युद्धस्तरमा काम भैरहेको छ । असारमा ठेक्का सम्झौता भएका यी सडकमा भदौ पछि कामले पुरै गति लिएको छ। अर्मादी –बनौ सडकमा त अहिले २० प्रतिशत भन्दा बढी काम भैसकेको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) मार्फत कालोपत्रेका लागि काम भैरहेको छ । अर्मादी –बनौ र लमायखोला – लुंखु सडक ६१ करोड ६० लाख रुपैंयाको लागतमा कालोपत्रेको काम भैरहेको आरसीआईपीका पर्वत प्रमुख जगदीश शर्माले बताए । ‘अहिले काम सन्तोषजनक रुपमा भैरहेको छ’ उनले भने ‘यही गतिमा काम गर्दै जाने हो भने ठेक्का सम्झौता अवधी भित्रै काम सम्पन्न हुन सक्छ’ अर्मादी – बनौ खण्डमा काम गर्न सहज भएपनि लमायखोला –लुंखु खण्डमा निर्माण सामाग्रीको अभाब भएको छ । स्थानिय खोलामा ढुंगा निकाल्न नदिएपछि ठेकेदारले ढुंगाकै अभाबमा काम चाहे जति छिटो सक्न कठिनाई भैरहेको बताएका छन । स्थानिय तह र ब्यक्ति संग समेत समन्वय गरेर निर्माण सामाग्री सहज रुपमा उपलब्ध गराउने प्रयास भैरहको प्रमुख शर्माले बताए ।
यसबाहेक लुंखु–हुवास १५ किमि पनि कालोपत्रेको चरणमा छ । आरसीआइपीले आगामी वर्षदेखि कलोपत्रे हुनेगरी ७ वटा सडकको विस्तृत योजना सर्वे भइरहेको छ । ‘आगामी वर्ष कालोपत्रे गर्नेगरी सातवटा सडकको डीपीआर बनाउँदै छौं,’ प्रमुख शर्माले भने, ‘डीपीआर तयार गरेपछि ती सडक आगामी वर्षदेखि कालोपत्रे सुरु हुनेछन् ।’ मिलचोक–सालिजा, पातीचौर–बाजुङ–क्याङ, दोबिल्ला–गँगटे–आर्थर, जैमिनि–खानीगाउँ–कार्कीनेटा परेका छन् । त्यस्तै लमाय–लिमिठाना–ठानामौला–थापाठाना, त्रिवेणी–टकलाक–सिंगारकोष र रतिखोला–दराक–चित्रेको आगामी वर्षदेखि सुरु गर्ने लक्ष्यका साथ सयै वर्ष डीपीआर तयार गर्नका लागि छनोट भएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!