पर्वत / मेलम्चीको कुरा छाड्ने हो भने गाउँमा बन्ने खानेपानी योजनाहरु सामान्यतया दुई चार बर्षमा नै पुरा हुन्छन । तर पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना भने २३ बर्षपछि सम्पन्न भएको छ ।
बिहादी गाउँपालिका वडा नं २ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुबिधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाई योजना २३ बर्षपछि सम्पन्न भएको हो ।
खानेपानीको मुलको बिबादका कारण २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पुरा भएपछि बिचमै अलपत्र परेको थियो । पछिल्लो समयमा मुलको बिबाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसरफाई परियोजना(दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको हो ।
निर्माण सम्पन्न योजनाको प्रतिनिधीसभाका सदस्य पदम गिरीले उद्घाटन गर्नुभयो । उहाँले पर्वत जिल्लाका सबै घरधुरीमा खानेपानीका एक घर एक धारा पु¥याउँने लक्ष्य आफ्नो कार्यकालभित्रै पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आयोजना सम्पन्न भएपछि दुई वडाका १ सय ९३ घरमा घरघरै धारा निर्माण गरिएको छ भने बिद्यालय, सार्वजनिक संस्था, मन्दिरहरुमा सामुदायिक धारा समेत बनेका छन । २०४२÷०४३ सालमा नै खानेपानीको योजनाको सर्बेक्षण भएपनि निर्माण हुन नसकेको तर २०५३ मा निर्माण शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताउनुभयो । ‘मुख्य पाइपलाइन, ट्याङ्गकी निर्माण भएपछि मुलको बिषयमा बिबाद हुँदा ७० प्रतिशत काम पुरा भएपनि त्यसै छाडिएको थियो।’ उहाँले भन्नुभयो ‘सबै क्षेत्रको अथक प्रयासबाट तीन दशक अघि देखिको सपना बल्ल पुरा गर्न सकेका छौ’

पर्वत जिल्लामा खानेपानीको ठुलो समस्या रहेको गाउँ मध्येको एक हो बर्राचौर र रानीपानीको उपल्लो क्षेत्र । बिहान एक गाग्री पानी ल्याउँनका लागि यहाँका बासिन्दाले आधा घण्टा भन्दा बढी समय बिताउनुपर्ने बाध्यता थियो । योजना सम्पन्न भएसंगै सबैभन्दा बढी महिला खुसी भएका छन । ‘बिहान र बेलुका पानी बोक्ने कुराकै चिन्ता हुन्थ्यो’ उपभोक्ता हिरा केसीले भन्नुभयो ‘एक महिना सम्म निरन्तर श्रमदान गरेर भएपनि हामीले पानी बोक्ने दुःखको अन्त्य गर्न सफल भयौ।’
खानेपानी योजना १ करोड ४३ लाख रुपैंयाको लागतमा सम्पन्न भएको छ । त्यस मध्ये उपभोक्ताले जनश्रमदान र नगद गरि ५० लाख भन्दा बढी खर्च गरेका छन । खानेपानीको समस्या रहेको बर्राचौरको एउटा भूगोलका बासिन्दाले शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाकी क्षेत्रमा पनि छिट्टै खानेपानीको सुबिधा पु¥याउने लक्ष्य राखिएको बर्राचौर वडा नं २ का अध्यक्ष ओमबहादुर कुवँर बताउनुहुन्छ ।

बिहादी गाउँपालिकाका केही वडामा खानेपानीको अधिक समस्या भएकाले पालिकाले समस्या पहिचान गरि एक घर एक धारा निर्माणको काम गरिरकेको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले खानेपानी समस्या समाधान गर्नका लागि सबै स्थानिय तहले काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।






