खाने हो हिमाली भेडा–च्याङ्ग्राको मासु ? दशैका लागि यस वर्ष मुस्ताङबाट तीस हजार भेडा–च्याङ्ग्रा ओरालो झर्दै - News site from Nepal

 म्याग्दी : नेपालीको महानपर्व दशैंलाई लक्षित गरेर हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा नेपालका विभिन्न ठाउँमा बिक्रीका लागि झारिँदै छन्।
पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगसहित किसानहरूको भेडापालनप्रतिको आकर्षणले विगतका तुलनामा यस वर्ष भेडा–च्याङ्ग्राको संख्या बढेको किसानहरु बताउँछन्। मुस्ताङ जिल्लाकको समेत जिम्मा पाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमका अनुसार यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा झारिँदै छन्। दशैं तिहारका लागि मुस्ताङका साथै चीनको तिब्बतबाट समेत भेडा–च्याङ्ग्रा नेपाल ल्याउने चलन छ । मुस्ताङका किसानहरुका लागि भेडा–च्याङ्गा्रा आम्दानीको बलियो स्रोत हो। यस वर्ष मुस्ताङ्गी भेडा–च्याङ्ग्राको मूल्य प्रतिगोटा १७ हजारदेखि लिएर ३० हजार रुपैयाँसम्म रहेको मुस्ताङबाट फर्केका कृष्ण शर्माले जानकारी दिए।
हिमाली क्षेत्रको जडिबुटी खाने भएकाले मुस्ताङ्गी भेडाच्याङ्ग्राको मासु स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। उनका अनुसार तल्लो मुस्ताङमा फाट्टफुट्ट भेडा–च्याङ्ग्रा झरेका छन्। बेनी–जोमसोम सडकमा पनि मुस्ताङ्गी भेडा–च्याङ्ग्रा आइपुगेका छन् भने म्याग्दीको सदरमुकाम बेनीमा भित्रिने क्रम शुरु भएको छ। तर, बेनी–जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा–च्याङ्ग्रा समयमै बजारमा पु¥याउन समस्या भएको उनले बताए।
भेडापालनलाई प्रमुख पेशा बनाएका किसानहरुले चरन क्षेत्रसहित चितुवाको आक्रमणबाट जोगाउन धुम्ती चरण र गोठको व्यवस्था गरेकाले यसबर्ष कम क्षति भएको जनाइएको छ। मुस्ताङको सीमा आसपासका क्षेत्रबाट समेत भेडा–च्याङ्ग्रा बाहिरिने भएकाले यस वर्ष नेपाली बजारमा मुस्ताङ्गी भेडा च्याङ्ग्राको अभाव नहुने अनुमान गरिएको छ। उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ । गत वर्ष मुस्ताङबाट २६ हजार ४०० भेडा–च्याङग्रा निकासी भएको थियो। गत वर्षहरुमा भन्दा यस वर्ष विभिन्न ठाउँमा कर तिर्नुपर्ने भएकाले भेडा–च्याङग्रा महंगो भएको व्यापारीहरुको भनाइ छ ।
गत वर्ष २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडा–च्याङग्रालाई व्यापारीले किसानबाट नै १७ हजारदेखि २४ हजार रुपैयाँसम्ममा खरिद गरेका थिए ।  मुस्ताङमा रोगी भेडा–च्याङ्ग्रा निकासी हुन नदिने गरी स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीका लागि अनुमति दिइने भेटेरीनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीका प्रमुख कुसुमले बताए। मुस्ताङमा भेडाको तुलनामा च्याङ्ग्राको संख्या धेरै हुने गरेको छ।
म्याग्दी, बाग्लुङ, पर्वत, कास्कीका साथै देशका विभिन्न जिल्लाबाट  भेडा–च्याङ्ग्रा खरिद गर्न व्यापारीहरु मुस्ताङ पुगेका छन्। मुस्ताङबाट झारेका भेडा–च्याङग्रा म्याग्दीको बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बाग्लुङ, कुश्मा र पोखरासम्म पुर्‍याइने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!