पर्वत– मुलुकमा तीन तहको सरकार बनेको पनि दुई वर्षभन्दा बढि पुगिसकेको छ । नागरिकका आशा र अपेक्षा भने झन झन बढ्दै जान थालेको पाईएको छ ।
विकास सम्वाद कार्यक्रम लिएर पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगारा पुग्नुभएका गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई स्थानीयले गाउँको विकासका लागि योजनाको चाङ्गनै भिराएका छन् ।
शनिवार आयोजित विकास सम्वाद कार्यक्रममा एउटै गाउँबाट ४० वटा विभिन्न प्रकृतिका योजनाहरु माग गरेका हुन् । ती योजनाहरुमा बाँदर नियन्त्रण कार्यक्रमदेखि मोटरबाटो, खानेपानीको व्यवस्थापन, सिंचाई कुलो तथा पोखरी निर्माण, आमा समुहको भवन, जडिवुटी खेती, पञ्चे वाजा समुहलाई नौमती बाजाको व्यवस्था, विद्यालयको भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर वृद्धि, युवाहरुलाई स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन र सडक कालोपत्रे गर्ने सम्मका योजना मागेका हुन् । त्यसैगरी सुन्तला, कफी रु किबीको जोनको रुपमा विकास गर्न र चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धता पुरा गर्न समेत सुझाएका थिए ।
बाँदर आतंकका कारण बसाई सराई गर्नुपर्ने अवस्था आएकोले त्यसको उचित व्यवस्थापन गरिदिन समेत स्थानीयले माग गरेका छन् । जनता तथा स्थानीय जनप्रतिनिधिले उठाएका यस्ता मागहरुलाई क्रमश ः प्रदेश सरकारको तर्फवाट सम्वोधन गर्दै जाने मन्त्री लम्सालले प्रतिवद्धता जनाउनुभयो । उहाँले तीनै तहको सरकार संचालनमा आएका बेला स्थानीय तहवाट गर्न सकिने योजनाहरुलाई नगरपालिकावाट, केहि ठुला योजना प्रदेशवाट र सडक कालोपत्रे लगायतका ठुला योजनाहरुलाई संघीय सरकारवाट योजना पार्न सहयोग गर्ने बताउनुभयो । ग्रामीण क्षेत्रहरु पनि विस्तारै नगरउन्मुख बन्दै गएकाले पाँच वर्ष भित्रमा नागरिकहरुले राखेका सवै योजनाहरु सम्वोधन हुने आश्वासन दिनुभएको छ ।
उहाँले गण्डकी प्रदेशले पर्यटन व्यावसायलाई उद्योग रुपमा संचालन गर्न पहल गरिरहेको बताउँदै पर्यटन क्षत्रको विकासका लागि पर्यटकीय पूर्वाधार र होम–स्टेलाई व्यवस्थित गर्न पनि आग्रह गर्नुभयो । उहाँले विद्यालयहरुमा प्रविधियुक्त शिक्षाको विस्तारमा जोड दिँदै व्यवाहारिक शिक्षाले रोजगारीको स मस्यालाई हल गर्ने बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले नगरपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर विकास निर्माणको काम गरिरहेको बताउँदै परिणाम आउन केहि समय लाग्ने बताउनुभयो । उहाँले सडक, खानेपानी, सिंचाई, तथा व्यावसायीक कृषकहरुका लागि नगरवाटै विभिन्न अनुदान र प्राविधिक सहयोगहरु गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा फलेवासका उपप्रमुख मञ्जु अधिकारीले पछिल्ला वर्षहरुमा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाईरहेको बताउँदै तीनिहरुको पारदर्शिता र गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो । तीन तहको सरकार बनसिकेका बेला राज्यका कुनैपनि सेवा सुविधाबाट अव बञ्चित हुनु नपर्ने उहाँको भनाई थियो ।
फलेवास नगरपालिका वडा नं. ९ का अध्यक्ष गंगाधर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फालेवास नगरपालिका वडा नं. २ का अध्यक्ष गंगानारायण श्रेष्ठ, नेपाली काँग्रेसका प्रतिनिधि तेजबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो भने संचालन कुलप्रसाद भुसालले गर्नुभएको थियो ।






