पर्वत- संविधान दिवस २०७६ को अवसरमा पर्वतमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
जिल्ला मुल समारोह समितिको आयोजनामा तीन दिनसम्म संचालित कार्यक्रम मध्ये शुक्रवार मुल समारोह तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । मुल समारोहलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले अब नेपाली जना निरास भएर बस्नुपर्ने दिन गएको बताउनुभयो । उहाँले सरकारले चौतर्फी रुपमा मुलुकको समृद्धिका कामहरु गरेको भन्दै नेपाली नागहिरुलाई अब उत्साह र उमंगका साथ बस्न आग्रह गर्नुभयो । सांसद गिरीले वर्तमान सरकार संविधान कार्यान्वयनकै दिशामा अघि बढेको बताउँदै संविधान कार्यान्वयन गर्दै देशलाई समाजबाद तर्फ लैजाने कार्यमा लागेको बताउनुभयो । गिरीले प्रतिपक्षी दलले भ्रम छरेर वर्तमान सरकारका विरुद्धमा अवफाह फैलाए पनि सरकार दोहोरो अंकको आर्थिक बृद्धि कायम गर्ने गरी लागि परेको बताएका छन ।
शसस्त्र युद्ध गर्दै देश टुक्राउने एजेण्डा लिएर बसेका विद्रोही शक्तिलाई समेत राजनितिको मुल प्रवाहमा लैजाने गरी सरकारले गरेको उहाँले बताउनुभयो । नराम्रो भनेर प्रचार गर्नेहरुलाई उदाहरण दिँदै सांसद गिरीले भने–‘पाइपबाट तेल ल्याउने, उत्तरका नाकाहरु खुलाउने र आर्थिक बृद्धिदर उच्च राख्ने कार्य सरकारका के कमजोर पक्ष हुन ।’ सांसद गिरीले थप्नुभभयो–‘सरकार गठनको पहिलो बर्ष कानून निर्माण भए, दोस्रो बर्ष देखि विकास योजनाको कामले रप्तार लिन्छ ।’ उहाँले सरकार कुनै पनि मूल्यांकनमा कमजोर नरहेको भन्दै देश परिर्वतन र विकास यहि सरकारले गर्ने ठोकुवा गर्नुभयो । संविधान नमान्ने शक्तिहरुलाई समेत संविधान मान्न बाध्य पारी सरकारले राजनीतिको मूल धारमा ति शक्तिहरुलाई ल्याएको उहाँको भनाई छ ।
कार्यक्रममा संविधान सभाका सदस्य तथा काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले सोचे बमोजीमको गति लिन नसकेको आरोप लगाउनुभयो । उहाँले वर्तमान दुई तिहाईको सरकार असफल भए अव कुनै पनि दुई तिहाइको सरकारले काम गर्न नसक्ने दोहो¥याउँदै यो सरकार असफल हुन नहुने तर्क गर्नुभयो । वर्तमान सरकार असफल हुँदा कांग्रेसले दुई तिहाइ माग्दै मत माग्न समेत लाज लाग्ने भन्दै सरकारले जनताको मनोभावना बमोजीम काम गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमु्ख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जिल्ला न्यायधिश सूर्यबहादुर थापा, नेकपा नेता भक्त कुँवर, कांग्रेस पार्टी सभापति खिमप्रसाद भुषाल, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी र उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अधिबक्ता भोलानाथ शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सञ्चालन सहयाक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले गर्नुभएको थियो ।
यस अघि जिल्ला प्रशासनबाट शुरु भएको प्रभात फेरी पर्वत सदरमुकाम कुश्मा बजारका विभिन्न चोक हुँदै मुल समारोहमा परिणत भएको थियो । उक्त अवसरमा सांसद गिरीले जिल्ला प्रशासन कार्यालयको झण्डोत्तलन गरेका थिए ।






