पर्वतको जिल्ला बाल कल्याण समिति कुश्मा नगरपालिकालाई हस्तान्तरण - News site from Nepal

पर्वत– महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको जिल्ला बाल कल्याण समिति कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
मन्त्रिपरिषदको जिल्ला बाल कल्याण समिति खारेज गरी चल अचल सम्पत्ति स्थानीय बालअधिकार समितिमा हस्तान्तरण गर्ने निर्णय अनुसार कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
बिहीवार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गर्नुभएको हो । २०५२ सालमा स्थापना भएको बाल कल्याण समिति चौवीस वर्षपछि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो ।
समितिसँगै रहेका चल अचल सम्पत्ति समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । समितिको कोषमा रु १४ लाख २१ हजार ३ सय ३३ रुपैया बैंक मौज्दात, पर्निचर, खातापाता, रसिद समेत हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।
सो अवसरमा समितिको जिम्मेवारी ग्रहण गर्दै नगरप्रमुख रामचन्द्र जोशीले पर्वतमा लामो समयदेखि सक्रिय रहेर बालबालिकाहरुको हकहितमा काम गर्दै आएको समिति स्थानीय सरकारमा हस्तान्तरण भएकोमा खुसी व्यक्त गर्दै यसलाई अझै राम्रो ढंगले व्यवस्थापन गर्दै लैजाने बताउनुभयो ।
उहाँले सवै स्थानीय तह, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चार क्षेत्रसँगको आवश्यक छलफल र सहकार्यमा साझा समितिको रुपमा विकास गर्दै लैजाने बताउनुभयो । उहाँले विस्तारै संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई जिम्मेवारी दिन थालेको बताउँदै विपन्न, असहाय, गरिब तथा अपाङ्गता भएका बालबालिकाहरुको हितमा नगरपालिकाले विशेष योजना बनाएर अघि बढेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले लामो समयदेखि प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहनेगरी बनेको समिति आजदेखि विधिवत रुपमा स्थानीय सरकारमा हस्तान्तरण भएको बताउँदै आगामी दिनमा पनि यसलाई जिवन्त बनाईराख्न र आवश्यक परेमा आफुहरुले समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा बाल कल्याण समितिका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । पर्वतमा उक्त समिति २०५२ सालमा बसन्तबहादुर सिकेको अध्यक्षतामा गठन भएको थियो । समितिको आफ्नै भवन समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!