पर्वत/ जिल्लामा सञ्चालित राष्ट्रिय गौरब र अन्य बिकास आयोजनाहरुको प्रगति बिबरण दुई दिन भित्र पेश गर्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्देशन दिनुभएको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले संघीय सरकार र प्रदेश सरकारबाट सञ्चालित बिकास आयोजनाका प्रमुखहरु संग गरेको छलफल कार्यक्रममा आयोजनाको प्रगति बिबरण पेश गर्न निर्देशन नेपालले दिनुभएको हो ।
छलफलमा आयोजना र कार्यालय प्रमुखहरुले गएको आर्थिक बर्ष २०७५÷०७६ मा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । कतिपय कार्यालयहरुको प्रगति ९० प्रतिशत भन्दा माथि देखिएको छ भने कतिपय कार्यालयहरुको प्रगति ५० प्रतिशत भन्दा बढी छ । उक्त छलफलमा प्रजिअ नेपालले दुई दिन भित्रमा कार्यप्रगति र समस्याहरुका बारेमा प्रतिबेदन पेश गर्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिनुभएको थिथयो ।
पर्वत जिल्लामा कालीगण्डकी करिडोर प्रसारण आयोजना, मध्यपहाडी लोकमार्ग आयोजना, उत्तर दक्षिण कालीगण्डकी करिडोर लोकमार्ग आयोजना, नयाँ मोदी लेखनाथ प्रसारण आयोजना जस्ता राष्ट्रिय गौरबका आयोजना सञ्चालित छन । संघीय सरकार मातहत ग्रामिण सडक सञ्जाल सुधार आयोजना, पुननिर्माण प्राधिकरण मातहतका निजी आवास र शिक्षा आयोजना, तथा र गण्डकी प्रदेश सरकार मातहतका पुर्वाधार बिकास, जलस्रोत तथा सिंचाई बिकास, वन डिभीजन, भू तथा जलाधार ब्यबस्थापन , खानेपानी डिभीजन कार्यालयहरुले बिकास निर्माणका बिभिन्न आयोजनाहरु सञ्चालन गर्दै आएका छन ।
उक्त अवसरमा कालीगण्डकी करिडोर प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले आयोजनाको दाना –कुस्मा खण्डको सम्झौता अबधी समाप्त भएपनि अहिले सम्म ८० प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । उहाँले स्थानियबासीको अबरोध र वन लगायतको समस्याका कारण सोचे अनुसार प्रगति नभएको बताउनुुभयो । मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख आशिष थापा मगरले आयोजनाको पर्वत खण्डमा ५० प्रतिशत निर्माण कार्य पुरा भएको जानकारी दिनुभयो । केही समय देखि निर्माण कार्य रोकिएपनि भदौपछि निर्माण कार्य युद्धस्तरमा अगाडी बढाउँदै सम्झौता अबधी भित्रै काम सम्पन्न गर्ने जानकारी दिनुभयो । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर प्रेमहरी पराजुलीका अनुसार सडक निर्माण कार्य लक्ष्य अनुसार नै प्रगति भएको बताउनुभयो । जलस्रोत तथा सिंचाई बिकास डिभीजनले ९० प्रतिशत काम सकेको छ । भू तथा जलाधार ब्यबस्थापन कार्यालयले ९६ प्रतिशत प्रगति भएको जानकारी गरानुभएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जिल्लाका बिकास आयोजनाहरुको नियमित रुपमा अनुगमन र कार्यप्रगतिका बारेमा जिल्ला प्रशासन कार्यालय मार्फत ताकेत थालेको छ भने प्रजिअ नेपालले आयोजना प्रमुखहरु संग मासिक रुपमा प्रगति समिक्षा गर्न थाल्नुभएको छ । छलफलपछि बिकास आयोजनाहरु समयमा सम्पन्न गर्न तथा आईपरेका समस्याहरुका बारेमा निकास निकाल्न पनि सहज हुने उहाँको बिश्वाछ ।






