पर्वत–पर्वतका शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुको संस्था शिक्षक बचत तथा ऋण सहकारी संस्थाको छैटौ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभालाई सम्वोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दिय उपाध्यक्ष जंगबहादुर गर्बुजाले शिक्षकहरु आफनो पेशाबाट भएको कमाई भविष्यका लागि बचत गर्नका लागि यस्ता सहकारीहरुको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि शिक्षकहरुले महत्वपुर्ण भूमिका खेल्दै आएको बताउँदै राज्यले निजामती कर्मचारी सरह सेवा सुविधाहरु दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले अझैपनि शिक्षकहरु विभिन्न समस्यामा रहेको बताउँदै शिक्षक संगठनले राखेका कामहरु राज्यले पुरा गरिदिनुपर्ने बताउँदै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरु आफ्नो क्षमता बृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संगठनका केन्दिय सदस्य शारदाकुमारी नेपाल राष्ट्रिय शिक्षक संगठनले आम शिक्षकहरुको हक र हितका निम्ति काम गर्दै आएको बताउनुभयो । उहाँले शिक्षकहरुलाई राज्यवाट उपलब्ध गराउनुपर्ने सेवा सुविधा र शिक्षा क्षेत्रमा भित्रिएका बिकृति विसंगतीको अत्यका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेकपाकमा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले अहिलेको सरकारले शिक्षा क्षेत्रको विकासका लागि महत्वपुर्ण योजनाहरु अघि सारेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकहरुको ठूलो भूमिका रहने बताउँदै सक्रिय भएर लाग्न समेत शिक्षकहरुलाई आग्रह गर्नुभयो । नेता सुवेदीले शिक्षकहरुको जस्तोसुकै समस्यामा नेपाल कम्युनिष्ट पार्टीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य हिरादेवी शर्मा, नेकपा पर्वतका संयन्त्र सदस्य गोविन्द पहाडी, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख उद्धिमराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष चिरञ्जिवि शर्मा, संगठनका पूर्व अध्यक्ष कृष्णप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो ।
शिक्षक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टंक भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चुडामणी सुवेदीले गर्नुभएको थियो । सो अवसरमा सहकारीको आयव्यय, र प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।