नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा जेष्ठ नागरिक आश्रमलाई सहयोग र जलजलाका बाढिपिडितका घर बनाइदिने सम्झौता - News site from Nepal

पर्वत ः मोदीबेनीमा सञ्चालित जेष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले रु.एक लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीको पहलमा प्राप्त भएको हो ।
मोदीबेनी जेष्ठ नागरिक आश्रम सञ्चालन समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठलाई रकम शुक्रवार कुश्मामा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैह्र आवसिय नेपाली संघका सल्लाहकार एवं अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहाकार गोबिन्द सुबेदी र नेपाली जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यको रोहवरमा हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आश्रमका लागि कुश्मा नगरपालिकाको तर्फबाट पनि एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मोदीबेनीमा पुल बनाउन र कुश्माबाट जाने सडक सहज बनाउन थालिएको नगरप्रमुख जोशीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैह्र आवसिय नेपाली संघका सल्लाहकार गोबिन्द सुबेदीले मोदीबेनीको बिकासमा जोडिएको प्रवासी सबै संस्थाहरुले सक्दो सहयोग गर्ने आश्वसन दिनुभयो । सुबेदीले निस्वार्थ भावले मोदीबेनीको विकासमा प्रवासी नेपालीहरुले सहयोग गर्ने र सहयोगको सहि सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यले मोदीबेनीको बृहत्तर विकासमा थप सहयोग गरिने आश्वसन दिनुभयो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटाले जेष्ठ नागरिक आश्रमको सहयोगका लागि आफुहरु सँधै तयार रहेको बताउनु भयो । साथै उहाँले आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मोदीबेनीको बागलुङ तर्फ हालै जेष्ठ नागरिक आश्रम बनाइएको छ । पर्वत तर्फ भने २०६८ सालदेखि नै बृद्धाश्रम सञ्चालनमा छ । हालै दुबै तर्फका सरोकारवाला सम्मिलित संयुक्त सञ्चालक समिति बनाइएको छ । मोदीबेनीमा पुल बनाएर दुबै तर्फको क्षेत्रलाई जोड्ने समितिले प्रयास गरिरहेको छ । पुल बनेपछि पर्वत तर्फको आश्रम नवनिर्मित भवनमा स्थानान्तरण गर्ने योजना रहेको आश्रम सञ्चालन समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठले बताउनुभयो ।
पर्वत र बागलुङ जिल्लामा फैलिएको मोदीबेनी क्षेत्रको विकासका लागि दुबै जिल्लाका बासिन्दाहरुले प्रतिष्ठाको रुपमा लिएर पूर्वाधार विकासका काम गरिरहेको श्रेष्ठले बताउनुभयो । गैह्र आवसीय नेपाली संघका अध्यक्ष भवन भट्ट समेत भवन उद्घाटनमा आउँदा आवश्यक सहयोग गर्ने आश्वसन दिनुभएको थियो । प्रवासी संघसंस्थाहरु बाट आर्थिक सहयोग संकलन गरेर बृद्धाश्रम सञ्चालनका लागि अक्षयकोष बनाइएको छ । सञ्चालन समितिका सदस्य केशवदास बैरागीले राष्ट्रिय बाणिज्य वैँकमा खाता सञ्चालन गरेर प्राप्त रकम जम्मा गरिरहेको जानकारी दिनुभयो ।
कोषको रकम बढाएर दुई करोड बनाउने लक्ष्य लिइएको बैरागीले बताउनुभयो । कोष दुई करोड रुपैयाँको बनेपछि त्यसैको व्याजबाट आश्रममा आवश्यक खानपिन, लत्ताकपडा, स्वास्थोपचार सेवा सञ्चालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
मोदीबेनीमा शालग्राम महायज्ञ सञ्चालन गरेर बागलुङ नगरपालिका १४ देवलबगरमा बृद्धाश्रम बनाइएपनि सञ्चालनका लागि आर्थिक अभाव भएपछि स्थानीयले देशबिदेशमा आर्थिक् संकलन गरि सञ्चालन गर्ने खर्च जुटाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!